देश

भट्टराई आश्रममा कोइराला परिवारले नसुनेको शास्त्रीय धून

काठमाडौं, पुस ८–नेपाली कांग्रेसका संस्थापक तथा पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराईको ९५औँ जन्मजयन्ती ललितपुरको बाँडेगाउँस्थित भट्टराई आश्रममा विशेष कार्यक्रम गरी मनाइएको छ । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले भट्टराईको जन्मजयन्ती पार्टी कार्यालय र पार्टीको कुनै पनि तहले औपचारिक रूपमा मनाउने निर्णय गरेन । तर, पार्टी सभापति शेरबहादुर देउवा मंगलबार बिहान ११ बजे भट्टराई निवास बाँडेगाउँ गएर भट्टराईको शालिकमा माल्यार्पण गरे ।

भारतका प्रसिद्ध सन्त अमरज्योति बाबाको उपस्थितिमा भएको शास्त्रीय संगीतमय कार्यक्रममा पुगेका कांग्रेस सभापति एवम् पूर्वप्रधानमन्त्री देउवासँगै कांग्रेस महामन्त्री पूर्णबहादुर खड्का, पूर्वउपसभापति गोपामान श्रेष्ठ, प्रकाशमान सिंह, नेताहरू प्रदीप गिरि, दीपकुमार उपाध्याय, रमेश लेखक, पूर्वसांसद रामहरि खतिवडालगायत आश्रम पुगेका थिए ।

आश्रम पुगेका नेताहरूले अन्य दिनको भन्दा फरक शैलीको कार्यक्रममा करिव चार घण्टासम्म बिताएका थिए । महामन्त्री खड्कासहितका नेता सुमधुर शास्त्रीय संगीतमा रमाएका थिए । पूर्वप्रधानमन्त्री भट्टराईलाई सिद्धान्तवादी अध्यात्मिक नेता भएको उल्लेख गर्दै देउवाले धेरै ठूलो तपस्या गरेर राजनीतिमा निष्ठाको नजिर स्थापित गरेको बताए । देउवाले नेपाली कांग्रेसमा किसुनजी जस्ता त्यागी नेताहरू थिए भनेर आजका पुस्तालाई शिक्षा दिनुपर्ने खाँचो औँल्याए ।

‘एक पटक राजदूतसहित धेरै महिलाको बीचमा मेरो बारेमा किसुनजीलाई भन्न लगाउँदा उहाँले सत्य बोल्दा तपाईंहरू रिसाउने र झूट बोल्दा भगवान् रिसाउने भन्नुभएछ’, देउवाले भने, ‘किसुनजी सत्यवादी र आदर्शवादी नेता हो ।’ अमरज्योति बाबाले सन्त नेता किसुनजी सन्त महात्माका लागि समेत प्रेरणादायी व्यक्तित्व भएको बताए । उनले अरूले के आलोचना गर्छन् भन्दा पनि के सत्य हो, त्यसको पछि लाग्नुपर्ने बताए ।

भट्टराई कांग्रेसको नेतृत्वमा हुँदा उनका अनुयायी भनेर चिनिएका राजनीतिज्ञहरू रामचन्द्र पौडेल, शरतसिंह भण्डारी, नारायण खड्का, बलबहादुर केसी उपस्थित भएनन् । कोइराला परिवारका कोही पनि सदस्यले किसुनजीको जन्मदिनमा सम्झिएनन् । विगतमा भट्टराई आश्रममा सत्तापक्ष र विपक्षी दलका नेता तथा लब्धप्रतिष्ठित व्यक्तिहरूको उपस्थिति हुने गरेको थियो । बुधबारको औपचारिक कार्यक्रममा किसुनजीका अनुयायी, सन्त नेता कृष्णप्रसाद भट्टराई प्रतिष्ठानका अध्यक्ष पीएल सिंहलगायतको उपस्थिति थियो ।

Featured