देश

वडा घुम्न निस्किएका मेयरसँग जनताका गुनासै गुनासा

काठमाडौँ, पुस ८–काठमाडौँ महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले महानगर क्षेत्रभित्र भएका विकास निर्माण र सेवा प्रवाहको स्थलगत अनुगमन थालेका छन् । यस अघि वडा नम्बर ९, १६ र २६ को स्थलगत अनुगमन गरेका मेयर शाक्यले आज वडा नम्बर ७ का विभिन्न स्थानको स्थलगत अनुगमन गरे । मेयर शाक्यले आफु निर्वा्चित भएर आएपछिका अढाई वर्षमा वडामा भएका विकास निर्माणका कामको प्रत्यक्ष जानकारी लिन अनुगमनमा निस्किएको जानकारी दिए ।

प्रधानमन्त्रीका विदेश मामिला सल्लाहकार डाक्टर राजन भट्टराई, वडाध्यक्ष शुद्धकुमार ढंगोल, काठमाडौँ महानगरपालिका सहरी पूर्वाधार विभागका प्रमुख डाक्टर उत्तरकुमार रेग्मी र वडाका सरोकारवालाहरुसहित अनुगमनका क्रममा मेयर शाक्यसँग स्थानीयले विभिन्न खाले गुनासा गरेका थिए भने मेयर नै विकास निर्माणको कामवारे जानकारी लिए ।

मेयर शाक्यसहितको टोलीले महानगरपालिका दिएको ७ करोड बजेटमा निर्माण हुँदै गरेको मैजुबहाल चक्रपथ, चावहिल, मित्रपार्क, जयवागेश्वरी, सिफल, कुमारीगाललगायतका स्थानको अनुगमन गरेको थियो । लामो समयदेखि नगरविकास आयोजनाले समेत अलपत्र छाड्दै आएको मैजुबहाल चक्रपथको अनुगमन गर्दा केही स्थानीयवासीले छिटो काम सम्पन्न गर्नुपर्ने भन्दै मेयर शाक्यसँग गुनासो गरेका थिए । केहीले घर अगाडि नै विजुलीका तारहरु अलपत्र पारेको, निर्माणकार्यमा ढिलासुस्ती गरेको जस्ता आक्रोस व्यक्त गरेका थिए ।

मेयर शाक्यले पनि स्थानीयका गुनासा सुन्दै छिटो–भन्दा छिटो काम सम्पन्न गर्ने गरी आफू अघि बढ्ने प्रतिवद्धता व्यक्त गरेका छन् । उनले मैजुबहाल क्षेत्रकै लागि थप एक करोड बजेट छुट्याएको भन्दै विकास निर्माणका काममा अवरोध हुन नदिने प्रतिवद्धता व्यक्त गरे । स्थानीयले विकास निर्माणका काममा भएका ढिलासुस्तीलगायतका बारेमा गरेका गुनासोलाई आफूले सकारात्मक रुपमा लिएको भन्दै मेयर शाक्यले त्यसले जनप्रतिनिधिलाई थप जिम्मेवार बनाउने बताए ।

Featured