देश

घिसिङ र डा. रुइतलाई हेमबहादुर मल्ल सम्मान

काठमाडौं, पुस ८–नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ र आँखाका विशेषज्ञ चिकित्सक डा. सन्दुक रुईतलाई हेमबहादुर मल्ल सम्मान प्रदान गरिने भएको छ । प्रत्येक वर्ष प्रदान गरिने यो सम्मानको राशि २ लाख रुपैयाँ रहेको छ । घिसिङलाई २०७३ सालको हेमबहादुर मल्ल सम्मान र डा. रुइतलाई २०७४ सालको हेमबहादुर मल्ल सम्मान प्रदान गर्न लागिएको नेपाल जनप्रशासन संघ र साल्ट ट्रेडिङ कपोरेशनको संयुक्त आयोजनामा आज काठमाडौंमा आयोजित एक कार्यक्रममा जानकारी गराइएको हो ।

कार्यकारी निर्देशक घिसिङलाई दैनिक १८ घण्टासम्मको अँध्यारोमा बाँँच्न विवश नेपालीहरूलाई लोडसेडिङमुक्त तुल्याउन अतुलनीय योगदान गरेबापत उक्त सम्मान प्रदान गर्न लागिएको उच्चस्तरीय छनोट समितिका संयोजक कृष्णहरि बाँस्कोटाले जानकारी दिए । घिसिङले प्राधिकरणको नेतृत्व सम्हालेलगत्तै उचित व्यवस्थापन गरी सुरुमा काठमाडौं र केही समयपछि पूरै देशलाई नै लोडसेडिङमुक्त बनाएका थिए ।

त्यसैगरी, नेपालमा आँखा उपचारमा अतुलनीय योगदान गरेबापत डा. रुइतलाई सो सम्मान प्रदान गर्न लागिएको छनोट समितिका संयोजक बाँस्कोटाले बताए । डा. रुइतले १ लाख ३० हजारभन्दा बढीको उपचार गरी उनीहरूको नेत्रज्योति पुनःस्थापना गरिसकेका छन् । त्यस्तै, उनले ३० भन्दा बढी मुलुकमा प्रयोग भइराखेको स्तरीय, कम खर्चिलो एवं भरपर्दो आँखाको लेन्स उत्पादन गर्नेजस्ता महत्त्वपूर्ण कार्यमा प्रत्यक्ष योगदान गरेका छन् ।

Featured