देश शिक्षा

कर्णालीमा प्रारम्भिक कक्षा पढाइ कार्यक्रम, ‘बालबालिकाको सिकाइमा वृद्धि’

सुर्खेत, पुस ८–कर्णाली प्रदेशमा प्रारम्भिक कक्षा पढाइ कार्यक्रमले बालबालिकाको सिकाइमा वृद्धि भएको एक कार्यक्रम सहभागीले बताएका छन् । मंगलबार प्रारम्भिक कक्षा पढाइ कार्यक्रमको मध्यावधि मूल्यांकन प्रतिवेदन २०१८ को प्रदेश स्तरीय प्रबोधीकरण कार्यक्रमका सहभागीले यस्तो बताएका हुन् । कार्यक्रममा त्रिवेणी नगरपालिका डोल्पाका शाखा अधिकृत डिलप्रसाद रोकायले डोल्पामा प्रारम्भिक पढाइ कार्यक्रमले बालबालिकाको सिकाइमा विकास भएको बताए । ‘शिक्षा नियमावलीमा तोकेबमोजिम पढाइ नहुने जिल्ला डोल्पा हो,’ उनले भने, ‘तर प्रारम्भिक पढाइ कार्यक्रमबाट बालबालिकाले धेरै सिक्न पाएका छन् ।’ उनले नियमित रुपमा विद्यार्थी विद्यालय आउने र अभिभावकले समेत विद्यार्थीको पढाइमा चासो दिने गरेको बताए ।

त्यस्तै शिक्षा विकास तथा समन्वय इकाई सुर्खेतका नारायण पौडेलले सुर्खेतमा समेत यो कार्यक्रम प्रभावकारी भएको बताए । उनले सुर्खेतमा कक्षा १ देखि ३ सम्म रहेका ५ सय २ वटा विद्यालयमा यो कार्यक्रम लागू भएको बताए । धेरै विद्यालयमा लाइब्रेरीसहितको कक्षाकोठा निर्माणमा सहयोग भएकोे उनले बताए । यो लगायत शिक्षकलाई तालिम र शैक्षिक सामग्रीसमेत प्राप्त हुने भएकाले कार्यक्रम प्रभावकारी भएको उनले बताए ।

कार्यक्रममा शैक्षिक गुणस्तर परीक्षण केन्द्रका निर्देशक उत्तरकुमार पराजुलीले देशभर सर्वेक्षण गर्दा पहिले ५२ प्रतिशत बालबालिकाले नेपाली विषय राम्रोसँग पढ्न सक्ने भए पनि हाल ६६ प्रतिशत पढ्न सक्ने भएको बताए । उनले कर्णालीका दुई जिल्ला सुर्खेत र डोल्पामा समेत यो कार्यक्रम लागू गरिएको बताए । आगामी दिनमा दैलेखमा पनि यो कार्यक्रम लागू गर्ने योजना रहेको उनले बताए ।

सन् २०१५ बाट लागू गरिएको प्रारम्भिक पढाइ कार्यक्रम सन् २०२० मा सकिने भए पनि कुनै न कुनै माध्यमबाट कार्यक्रमलाई निरन्तरता दिने निर्देशक पराजुलीले बताए । हाल देशभरका १६ जिल्लामा यो कार्यक्रम लागू गरिएको उनले जानकारी दिए । ‘नेपाली राम्रोसँग पढ्न सक्ने विद्यार्थीले अन्य विषयमा राम्रो गर्न सक्छ,’ उनले भने, ‘राना थारु, मैथली र अवधि भाषामा समेत प्रारम्भिक पढाइ कार्यक्रम लागू गरिएको छ ।’

कार्यक्रमको प्रमुख कर्णाली प्रदेश योजना आयोगका सदस्य डा. दिपेन्द्र रोकायले उद्घाटन सत्रमा हालको शिक्षा बेरोजगार विद्यार्थी उत्पादन गर्ने खालको भएकाले कर्णालीमा यो कार्यक्रम अझै आवश्यक भएको बताए । उनले पञ्चवर्षीय योजना निर्माणमा शिक्षा क्षेत्रलाई समेट्नुपर्ने बताए ।

Featured