देश

लमजुङको दोर्दीखोलामा अचानक बाढी,चारजनाको शव फेला

लमजुङ, साउन ८ । लमजुङको दोर्दीखोलामा बुधबार दिउँसो अचानक बाढी आउँदा ठूलो जनधनको क्षति पुगेको छ ।बाढीले बगाउँदा चारजनाको मृत्यु भएको छ । दर्जनौं बेपत्ता छन् ।दोर्दी गाउँपालिकाको शेरापुलनजिकै दुईजना र कीर्तिपुरबेसीमा दुईजनाको शव फेलापरेको छ । उनीहरुको पहिचान हुन नसकेको दोर्दी गाउँपालिकाका अध्यक्ष ओमबहादुर गुरुङले बताए ।मनास्लु हिमाल काखबाट बगेको दोर्दीमा मुहान वरपर पहिरो गएका कारण बाढी आएको स्थानीयले बताएका छन् ।

दोर्दी गाउँपालिका वडा नम्बर–६, ताँजेमा रहेको ५४ मेगावाट क्षमताको सुप्पर दोर्दी जलविद्युत् आयोजनाको टनेलमा बाढी फस्दा तीनजना बेपत्ता भएका छन् ।टनेलभित्र बाढी पसेपछि फसेका १७ मजदुरमध्ये १४ जनाको सकुशल उद्धार गरिएको आयोजनाका प्रवर्द्धक केशव रायमाझीले बताए । उनकाअनुसार हराइरहेका तीन मजदुरको खोजी भइरहेको छ ।

बाढीले आयोजनाको दुईओटा लोडर, दुईओटा ट्याक्टर, दुईओटा कम्प्रेसर, एउटा जेनेटरलगायतका सामग्री बगाएको रायमाझीले बताए ।बाढीमा परी लिबर्टी इनर्जी पावर कम्पनीद्वारा प्रवर्द्धित दोर्दी जलविद्युत् आयोजनामा कार्यरत् मजदुरहरु पनि हराइरहेका छन् ।आयोजनाका प्रवर्द्धक राजेन्द्र वस्तीले आफ्नो जलविद्युत् आयोजनामा कतिजना मजदुर हराएका छन् भन्ने एकिन जानकारी नै पाउन नसकेको बताए ।बाढीले अरु धेरै जनधनको क्षति पुगेको स्थानीयले बताएका छन् । स्थानीय धर्मराज गुरुङकाअनुसार छोटेखोलाका कुमार लामाको ट्याक्टर र चालक बगाएको छ । चालकको परिचय खुलेको छैन ।बाढीले वितन्डा मच्चाएपछि सदरमुकामबाट प्रमुख जिल्ला अधिकारी डा. डिजन भट्टराई, डीएसपी रविन्द्रमान गुरुङ, प्रहरी निरीक्षक वसन्त पाण्डेसहितको टोली घटनास्थलतर्फ जाँदैछ ।

Featured