देश

भोलि क्रिसमस डे, इसाई धर्मावलम्बीलाई मात्र बिदा

काठमाडौं, पुस ८–इसाई धर्मावलम्बीहरूले भोलि (बुधबार) क्रिसमस डे मनाउँदै छन् । सरकारले भने इसाई धर्मावलम्बीका लागि मात्र सार्वजनिक बिदा दिने निर्णय गरेको छ । अघिल्ला वर्षहरूमा यो दिन सार्वजनिक बिदा दिँदै आएको सरकारले यो वर्ष पर्व बिदा कटौती गर्दै सम्बन्धित धर्मावलम्बीलाई मात्र बिदा दिने निर्णय गरेको हो ।

नेपालमा प्रचलित पात्रोमा भोलि सार्वजनिक बिदा भनिए पनि सरकारले भने सूचना विभागले जारी गरेको क्यालेण्डरलाई मात्र आधिकारिक मान्न आग्रह गर्दै सबैलाई सार्वजनिक बिदा नदिइएको स्पष्ट पारेको छ । इसाई धर्मावलम्बीहरूले बुधबार क्रिसमस डे मनाउँदै छन् । विश्वभर रहेका इसाई धमौवलम्बीहरूले यो दिन विशेष महत्त्वका साथ मनाउने गर्छन् ।

१ चैत २०७५ मा प्रकाशित राजपत्रका अनुसार २०७६ सालको ९ पुसमा इसाई धर्मावलम्बीहरूका लागि बिदा दिने उल्लेख छ । क्रिसमसलगायतका धार्मिक पर्वहरूमा मुलुकभर सार्वजनिक बिदा दिइने प्रावधानलाई हटाएर पछिल्ला वर्ष सम्बन्धित धर्मावलम्बीहरूलाई मात्रै बिदा दिन थालिएको छ । ११ गते तोल ल्होसार पर्व भए पनि बिदा दिइएको छैन । यसैगरीऽ १५ पुसमा तमु ल्होसारमा पनि सम्बन्धित धर्मावलम्बीका लागि मात्र सार्वजनिक बिदा दिइएको छ ।

Featured