देश

तालिममा सिकेको सीपबाट उद्यमशील बन्दै ग्रामीण महिला

विराटनगर, पुस ८–सुनसरीको इटहरीमा नेपाल उद्यमशील महिला महासंघद्वारा सञ्चालन भइरहेको राष्ट्रिय उद्यमशील महिला मेला भने मनोरञ्जन र व्यापारमा मात्र सिमित छैन । यहाँ स्थानीय महिलाहरुलाई उद्यमशील बनाउने काम पनि भइरहेको छ । गत शनिबारदेखि सुरु भएको मेलामा करिव १ सय महिलाले झोला बनाउने तालिम लिइरहेका छन् । मेला सुरु हुनुभन्दा केहिदिन अघिदेखि नै महासंघले महिलाहरुलाई गाउँघरकै जंगलमा पाउने थाकलबाट बन्ने झोला बनाउने तालिम दिन थालेको हो ।

इटहरी आसपासका करिव १ सय जना महिलाहरु हरेक दिन मेला स्थलमा भेला हुन्छन् र थाकलबाट झोला बनाउने कला सिक्न व्यस्त हुन्छन् । आफूहरुले बनाएको झोला समेत महासंघले नै खरिद गर्ने तथा कच्चा पदार्थ समेत उपलब्ध गराउने भएकाले उद्यमी बन्न सकिने विश्वास पलाएको तालिममा सहभागि इटहरी–२ कि चन्द्रिकाकुमारी राईले बताइन् । ‘घरको काम सकिसकेपछि त्यसै बसिरहन्थेँ । आर्थिकोपार्जन हुने अरु कुनै काम थिएन ।’ उनले भनिन्, ‘मेला हामी जस्ता महिलाहरुका लागि एपउटा ठूलो अवसर भएको छ । सीप सिकेर घरमै झोला बनाएर महासंघलाई नै हामीले बेच्न सक्छौंँ । यसबाट हामीलाई आम्दानी पनि राम्रो हुन्छ भन्ने आशा लिएका छौँ ।’

पटेर, मकैको खोस्टा लगायतबाट पनि बनाउन सकिने भएकाले झोला बनाउन कच्चा पदार्थको कुनै अभाव नरहेको राष्ट्रिय उद्यमशील महिला महासंघकी अध्यक्ष देवीका बुढाथोकीले जानकारी दिइन् । महिलाहरुलाई उद्यमशील बनाउने अभियान अन्तर्गत देशव्यापी रुपमा यसप्रकारको तालिम प्रदान गर्दै आएको उनको भनाइ छ । ‘सीप सिकी सकेपछि महिला दिदी बहिनीहरुले बनाएका झोला पनि महासंघले नै खरिद गरेर चीनमा निर्यात गर्छ । अध्यक्ष बुढाथोकीले भनिन्, ‘हामीलाई बजारको समेत कुनै समस्या छैन ।’

महिलाहरुले घरको काम भ्याएर पनि झोला बनाएर मनग्गे आम्दानी गर्न सक्ने तालिमकी प्रशिक्षक समीक्षा चन्दको भनाइ छ । ‘महिलाहरुले चुल्हो चौकामा मात्र सिमित हुनुहुँदैन बचेको समय सदुपयोग गर्ने हो भने प्रयाप्त आम्दानी समेत गर्न सक्नुहुन्छ ।’ उनले भनिन्, ‘हामीले दाङलगायतका विभिन्न ठाउँमा पनि तालिम सञ्चालन गरेका थियौँ । त्यो तालिममा शिप सिकेर धेरै महिला अहिले उद्यमीनै बनि सक्नु भएको छ । झोला बनाएरै महिनाको ३० हजार रुपैयाँ सम्म कमाएको पनि हामीले पाएका छौँ ।’ नेपाल उद्यमशील महिला महासंघले यसअघि देशभरका १३ वटा स्थानमा यस्तो तालिम सञ्चालन गरिसकेको छ । जसबाट करिब १५ सय महिला उद्यमशील बनिसकेको जनाइएको छ ।

Featured