देश

चैनपुर नगरपालिकामा खरको छानो हटाउने अभियान

संखुवासभा, पुस ८–संखुवासभाको चैनपुर नगरपालिका–१० ले सुरक्षित आवासका लागि खरको छानो हटाउने अभियान सुरु गरेको छ । चैनपुर–१० का ३३ घर परिवारलाई जस्तापाता वितरण गरेको वडा अध्यक्ष तेजबहादुर कटुवालले जानकारी दिए । चैनपुरको वडा नम्बर–१० र समाज स्पर्श समितिको सहयोगमा सल्लेरीका ३३ परिवारलाई जस्ता–पाता वितरण गरिएको वडा अध्यक्ष कटुवालले बताए ।

चुनावमा गरिएको प्रतिवद्धता अनुसार आफ्नो कार्यकाल भित्र वडालाई खरको छानो मुक्त बनाउने उनले बताए । ‘चुनावमा हामीले गरेको प्रतिवद्धता अनुरुप खरको छानो विस्थापित अभियान सुरु गरेका हो’, वडा अध्यक्ष कटुवालले भने, ‘खरको छानो सुरक्षाका दृष्टिकोणबाट समेत असुरक्षित भएका कारण खरको छानो विस्थापित लक्ष्य रहेको बताए ।

वडा नम्बर–१० का गरिब तथा बिपन्न वर्गका विभिन्न समुदायका परिवारलाई खरको छानोबाट मुक्त बनाउन जस्तापाता वितरण गर्न लागिएको अध्यक्ष कटुवालको भनाइ छ । चुनावी घोषणापत्र अनुसार आफ्नो कार्यकालभित्रै वडालाई खरको छानो मुक्त बनाइ सक्ने बताए । सुख्खा क्षेत्र त्यसमा पनि खरको छानो भएका घर सधै आगलागीको खतरामा भएका कारण पनि जस्तापाता नै उपयोगी हुने अध्यक्ष कटुवालको भनाई छ ।

उनले पहिलो चरणमा गरिब तथा विपन्न वर्गको घरमा खरको छानो फेर्ने योजना रहेको बताए । सुरक्षित आवासका लागि यो कार्यक्रम निरन्तर चल्ने वडा अध्यक्ष कटुवालले जानकारी दिए । पहिलो चरणमा ३३ घर परिवारलाई घरको साइज अनुसार जस्तापाता वितरण गरिएको बताइएको छ ।

Featured