देश

तमोर आयोजना निर्माणले स्थानीय उत्साहित

विराटनगर, पुस ८–सात सय ६२ मेगावाटको तमोर जलाशययुक्त बुहुउद्देश्यीय जलविद्युत् आयोजना निर्माणको प्रक्रिया सुरु भएपछि स्थानीय उत्साहित बनेका छन् । आयोजना निर्माणका लागि चिनियाँ कम्पनी चाइना पावर कम्पनीले जिम्मा लिएपछि आयोजना बन्नेमा स्थानीय नागरिक विश्वस्त छन् । ७ सय ६२ मेगावाट क्षमताको आयोजना निर्माणका लागि लगानी बोर्डले चाइना पावर कम्पनीलाई जिम्मा दिएपछि तेह्रथुम, पाँचथर, ताप्लेजुङ र धनकुटावासीमा खुसी छाएको छ । लगानीको टुंगो लागेपछि आयोजना बन्ने निश्चित भएको र यसले पहाडका चारवटै जिल्लामा विकासको ढोका खुलेको स्थानीय बलदेव लिम्बूले बताए ।

प्राधिकरणले गरेको पछिल्लो अध्ययनले पाँचथरको कुम्मायक गाउँपालिका–५ स्यावरुम्बा, भाङटार, जोरामौरे र तेह्रथुमको छथर गाउँपालिका ३ र ४ नम्बर वडाको ओख्रे नौढुंगेबीचमा बाँध बाँधेर आयोजना निर्माण गर्न सकिने देखाएको छ । आयोजना निर्माणपछि चारवटै जिल्लाको कृषि, पर्यटन, जलविद्युत् र पर्यावरण संरक्षणमा सहयोग पुग्ने स्थानीयको दाबी छ ।

आयोजना सुरु भएपछि स्थानीयस्तरमै रोजगारी र विकासका अवसर सिर्जना हुने म्याङलुङ नगरपालिका–२ का वडाध्यक्ष शम्भु लिम्बूले बताए । आयोजनास्थलमा २ सय मिटर उचाइको बाँध बनाएर ७ सय ६२ मेगावाट विद्युत् उत्पादन गर्न सकिने अध्ययनले देखाएको छ । आयोजना निर्माण गर्न एक खर्ब ५० अर्ब रुपैयाँ बजेट लाग्ने सरकारको अनुमान छ । चिनियाँ राष्ट्रपति सी जिनफिङ नेपाल भ्रमणमा आउनुभन्दा केही दिन अघिमात्र आयोजना बनाउन सम्झौता भएको थियो ।

Featured