देश

१२ करोडको कारोबार गर्दै सकियो सुदूरपश्चिम महोत्सव

धनगढी, पुस ७–धनगढीमा जारी सुदूरपश्चिम महोत्सव आइतबार सम्पन्न भएको छ । महोत्सवमा ५ लाख दर्शकको आगमन र १२ करोड रुपैयाँबराबरको कारोबार भएको आयोजक संस्था कैलाली उद्योग वाणिज्य संघका सचिव शिद्धराज पनेरूले दाबी गरे । उनका अनुसार टिकटबाट मात्रै ८० लाख रकम संकलन भएको र नाफाको १० प्रतिशत रेडक्रसलाई प्रदान गरिनेछ । गत २२ मंसरिदेखि सुरु भएको महोत्सवले स्थानीय कला, संस्कृतिको सम्वर्द्धन र पर्यटन प्रवर्द्धनमा टेवा र्पुयाएको आयोजकको विश्वास छ ।

महोत्सव अवलोकनका लागि टाढाटाढाबाट दर्शकहरू धनगढी पुगेका थिए । महोत्सवमा स्थानीय तथा राष्ट्रिय कलाकारबाट मनोरञ्जनसँगै प्रदर्शनीमा राखिएका सामानहरू सस्तोमा छानीछानी किन्न पाउँदा दर्शकहरू हौसिएका थिए । समग्रमा महोत्सव सफल भएको भए पनि व्यवस्थापकीय पाटो केही फितलो रहेको दर्शकहरूको प्रतिक्रिया छ । आयोजक कैलाली उद्योग वाणिज्य संघले पनि यो कुरा स्वीकार गरेको छ । धनगढीमा राम्रो प्रदर्शनीस्थल नभएका कारण समस्या देखिएको कैलाली उद्योग वाणिज्य संघका अध्यक्ष पुष्पराज कुँवरले बताए । यद्यपि महोत्सव सोचेभन्दा सफल भएको उनको भनाइ छ ।

महोत्सवको समापन गर्दै धनगढी उपमहानगरपालिकाका मेयर नृप वडले सुदूरपश्चिम महोत्सवले प्रदेशको आर्थिक विकास, पर्यटन प्रवर्द्धनमा टेवासँगै प्रदेशवासीमा एकता बलियो बनाएको बताए । उनले धनगढीमा बृहत् प्रदर्शनीस्थल निर्माणका लागि पहल गर्ने आश्वासनसमेत दिए । महोत्सवमा ३ सयभन्दा बढी स्टल, कृषि प्रदर्शनी र विभिन्न रमाइलो मेलाको व्यवस्था थियो । स्थानीय कला, संस्कृति तथा खानाका परिकारहरूका साथै स्थानीय उत्पादनलाई प्राथमिकता दिइएको सो महोत्सवको मुख्य नारा ‘समृद्ध सुदूरपश्चिमका लागि आर्थिक समृद्धि’ भन्ने राखिएको थियो । महोत्सव १५ दिन चलेको थियो ।

Featured