NRNA खबर देश विदेश साहित्य

गैर आवासीय नेपाली संघका उपाध्यक्ष डा. बद्री केसीसहित ३ सम्मानित

काठमाडौं, पुस ७–गैर आवासीय नेपाली संघ(एनआरएनए)का उपाध्यक्ष डा. बद्री केसीसहित ३ जना सम्मानित भएका छन् । रुस स्थित नेपाली दुतावासमा गैर आवासीय नेपाली संघ रुसको आयोजना, नेपाली छात्र संघ जनमैत्री विश्वविद्यालय र नेपाली दुतावासको सहकार्यमा आयोजित शुभकामना आदान–प्रदान कार्यक्रममा उनीहरु सम्मानित भएका हुन् । एनआरएनए अभियानमा स्थापनाकालदेखी निरन्तर आवद्ध रही राष्ट्रिय समन्वय परिषद रसियाको महासचिव हुँदै केन्द्रीय महासचिवसम्म विभिन्न पदमा सकृयताका साथ कुशलतापुर्वक कार्य सम्पादन गरेका डा. केसी गत अक्टोबर १५–१७ मा सम्पन्न ९ औँ विश्व सम्मेलनबाट रुसको प्रतिनिधित्व गर्दै उपाध्यक्षमा निर्वाचीत हुन सफल भएकाले सम्मान गरिएको हो ।

त्यसैगरी केन्द्रीय यु्रोप उप–संयोजकको भुमिकामा कुशलतापुर्वक कार्य सम्पादन गर्दै मानार्थ केन्द्रीय सदस्य भएकोमा गोविन्द गौतम र गत अगष्ट २५ मा सम्पन्न ९ औँ राष्ट्रिय सम्मेलनबाट रुसको प्रतिनिधित्व गर्दै पुनः दोस्रो कार्यकालका लागि केन्द्रीय सदस्य पदमा निर्विरोध निर्वाचीत भएको भन्दै डा. एकनारायढा चापागाईँसम्मान गरिएको हो ।

डा. केसी, गौतम र डा चापागाईलाई रुसका लागि नेपाली राजदुत ऋषिराम घिमिरे, गैर आवासीय नेपाली संघ रुसका अध्यक्ष शिवमणी भुर्त्यालले बधाई तथा सम्मानपत्र प्रदान गर्दै सम्मान गरेका हुन् । सो अबसरमा बोल्दै रुसका लागि नेपाली राजदुत ऋषिराम घिमिरेले उपाध्यक्ष केसीलगायत सम्पूर्ण एनआरएनए नेतृत्वले विश्वभरका नेपालीको हितमा काम गर्न शुभकामना दिए । त्यस्तै गैर आवासीय नेपाली संघ रुसका अध्यक्ष शिवमणी भुर्त्यालले रुसको प्रतिनिधित्व गर्दै विश्वभरका नेपाली समुदायको हितमा काम गर्नका लागि उपाध्यक्ष जस्तो गरिमामय पदमा डा. केसी निर्वाचीत हुन सफल भएकोमा गर्व लागेको बताए ।

कार्यक्रममा रुसी भाषामा अनुबाद गरिएका पुस्तकहरु ’नेपाली साहित्य संगम’ र ‘तिर्खा’ कविता संग्रह विमोचनसमेत गरिएको छ । नेपाली साहित्य संगम पुस्तक प्रकाशन भाषा साहित्य उप–समिति एनआरएनए अन्तरास्ट्रिय समितिले गरेको हो । उक्त पुस्तकहरु साहित्यकार कृष्णप्रकाश श्रेष्ठले रुसी भाषामा अनुबाद गरेका हुन् । २४८ पृष्ठको ‘नेपाली साहित्य संगम’ पुस्तकमा विभिन्न ४ दर्जन नेपाली साहित्यकारहरुको कविता, कथा, नाटकलगायतका रचना समावेस गरिएको छ ।

कार्यक्रममा नेपाली कवियत्री नाज सिंहले लेखेको कविता संग्रह ’तिर्खा’ पनि बिमोचन गरिएको थियो । सो संग्रह नेपाली, मैथिली र हिन्दी भाषामा अनुवादित छ । उक्त कविता संग्रह साहित्यकार कृष्णप्रकाश श्रेष्ठले सम्पादन गरेका हुन् भने विभिन्न रुसी साहित्यकारहरुको पनि सहयोग रहेको छ । ‘नेपाली साहित्य संगम’ र ‘तिर्खा’ पुस्तकको औपचारिक बिमोचन एनआरएनको कार्यालयमा कुलपति गंगा प्रसाद उप्रेतीले गरेका थिए । कार्यक्रममा रुसमा उच्च शिक्षा अध्ययनका लागि पुगेका नेपाली विद्यार्थीहरुलाई नेपाली छात्र संघ जनमैत्री विश्वविद्यालयले स्वागतसमेत गरेको छ । सो अवसरमा रुसमा रहेका नेपाली विद्यार्थीहरुको गायन नृत्यलगायत मनोरञ्जनात्मक प्रस्तुतीसमेत रहेको थियो । कार्यक्रम पश्चात रात्रीभोजको समेत आयोजना गरिएको थियो ।

Featured