देश

कर्णाली प्रदेशमा १ सय ७० स्वास्थ्य केन्द्र बन्ने

कर्णाली, पुस ७–कर्णाली प्रदेशमा दुई वर्षभित्र १ सय ७० वटा आधारभूत स्वास्थ्य केन्द्र निर्माण गर्ने उद्देश्यका साथ काम सुरु भएको छ । जाजरकोटमा ४४, डोल्पामा ३९, कालीकोटमा ५२, मुगुुमा २२ र हुम्लामा १३ वटा आधारभूत स्वास्थ्य केन्द्र निर्माण कार्य सुरू भएको हो । मन्त्रालयले कर्णालीका अन्य रुकुम, सुर्खेत, सल्यान, दैलेख, जुम्लामा समेत स्वास्थ्य संस्था मर्मत तथा निर्माण एवं खर्च व्यवस्थापका लागि बजेट निकासा गरेको छ ।

त्यस्तै, प्रत्येक जिल्लाको निर्वाचन क्षेत्रमा १५ शय्याको अस्पताल निर्माणका लागि छिट्टै पहल सुरू भएको छ । स्वास्थ्य संस्था निर्माण कार्य सुरू भएसँगै स्थानीयवासी खुशी भएका छन् । वर्षे्नि कुनै न कुनै समस्याबाट पीडित बन्दै आएको कर्णालीका दुर्गम जिल्लामा सङ्घीय सरकार र स्थानीय सरकारको सहकार्यमा स्वास्थ्य संस्था निर्माण कार्य सुरू भएसँगै गाउँमै औषधि पाउने भन्दै स्थानीयवासीले खुशी व्यक्त गरेका हुन् ।

दुर्गम गाउँबाट स्वास्थ्य संस्था आउन दिनभरि लाग्ने बाध्यता हट्ने जाजरकोट नलगाड नगरपालिका–८ मङ्सिरीका तेजबहादुर सिंहले बताए । स्वास्थ्य संस्था नहुँदा समस्या भोग्दै आएका उपल्लो डोल्पावासी खुशी भएको शे फोक्सुण्डो गाउँपालिकाका अध्यक्ष टसी तुन्डुप गुरुङले जानकारी दिए । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कर्णाली प्रदेशका जाजरकोट, डोल्पा, कालिकोट, मुगु र हुम्ला जिल्लामा स्वास्थ्य संस्था नभएका ठाउँमा दुई वर्ष्भित्र निर्माण कार्य सम्पन्न गर्नका लागि बजेट र स्वास्थ्यकर्मीको व्यवस्थापन गरेको हो ।

दुर्गम तथा पछाडि परेको कर्णाली प्रदेशमा बजेट व्यवस्थापनसहित स्वास्थ्यकर्मीको दरबन्दी पठाएसँगै स्वास्थ्य अवस्थामा सुधार आउने कर्णालीवासीले अपेक्षा गरेका छन् । पायक पर्ने ठाउँमा स्वास्थ्य संस्था नहुँदा रोग पालेर बस्नुपर्ने कर्णालीवासीको समस्या स्वास्थ्य संस्था निर्माणसँगै खटाइने स्वास्थ्यकर्मीले समस्या हल गर्ने स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री नवराज रावतले बताए । उनका अनुसार सबै जिल्लामा पहिले स्वास्थ्य संस्था नभएको ठाउँमा नयाँ निर्माण कार्य सुरू भइसकेको छ । गतवर्ष स्वास्थ्य संस्था नभएका वडाहरूमा आधारभूत स्वास्थ्य सेवा केन्द्र निर्माण तथा सञ्चालनसम्बन्धी कार्य्विधि, २०७६ संशोधनसहित स्वीकृत भइसकेको छ ।

कार्य्विधि स्वीकृतिसँगै गत आर्थिक वर्ष ०७५र७६ मा १ हजार २ सय वडामा र चालू आवमा १ हजार ३ सय ९० गरी जम्मा २ हजार ५ सय ९० वडामा स्वास्थ्य चौकी निर्माण तथा सञ्चालनको कार्य्विधि स्वीकृत भएसँगै आधारभूत स्वास्थ्य सेवा केन्द्र निर्माणको बाटो खुलेको हो । रासस

Featured