देश

चिसो छल्न बेंसी झर्दै बाजुराका भेडा व्यवसायी

बाजुरा, पुस ७–बाजुरा जिल्लामा वर्षासँगै हिमपात भएपछि जनजाति समुदायका मानिस बेंसीतिर झर्न थालेका छन् । गर्मीयाम सुरु भएसँगै लेकाली भेगमा जाने स्थानीयवासी चिसो सुरु भएपछि भेडापालन व्यवसाय गर्दै आएका उनीहरू अछामलगायतका जिल्लामा झर्ने गरेका छन् । वर्षे्नि उनीहरूले भेडापाठालाई लेक र बेंसीमा लाने गरेका छन् । गर्मी छल्नका लागि लेकाली भेगमा गएका स्थानीयवासी चिसो बढ्न थालेकाले उनीहरू यतिखेर भने बेंसीमा धमाधम जान थालेको बूढीनन्दा नगरपालिकाका स्थानीयवासी लोकेश गुरुङ ‘भोटे’ले बताए ।

लेकाली भेगका मानिसहरू साथमा विद्यालयमा जाने उमेरका बालबालिकालाई पनि साथमा लिएर जाने गरेका छन् । आफूलाई खान–बस्नका लागि भेडापाठाको पिठ्यूँमा नुन, तेल, चामललगायत खाद्यान्न सामग्री लिएर जाने गरेको वीरबहादुर गुरुङले बताए । लेकाली भेगमा भने उनीहरू जडीबुटी ओसारपसार गर्ने गर्दछन् । गर्मीको मौसममा बाजुराबाट चीनको सिमाना र हुम्लाको हिल्सा तथा यारीमा पुग्ने गरेको गुरुङको भनाइ थियो ।

उनीहरूलाई चीन जान भने अनुमति छैन । भेडापाठासहित आठ घरपरिवार लेकाली भेगबाट बेंसीमा झरेको गुरुङले जानकारी दिए । जिल्लाको हिमाली गाउँपालिका, बूढीनन्दा नगरपालिका र बडिमालिका नगरपालिकामा गरी ५ सयभन्दा बढी परिवार बसोबास गर्दै आइरहेका छन् । पछिल्लो समयमा कतिपय जनजाति समुदायका मानिसहरूले भेडापालन व्यवसाय छोडेर मार्तडी र कोल्टी बजारमा व्यापार–व्यवसाय गर्दै आइरहेको जनजाति महासंघ बाजुराले जनाएको छ । रासस

Featured