विदेश

नरिवलको रक्सी खाँदा आठ जनाको मृत्यु, सयौं अस्पताल भर्ना

एजेन्सी, पुस ७–फिलिपिन्समा नरिवलको रक्सी सेवन गर्दा कम्तीमा आठ जनाको मृत्यु भएको छ । रक्सीकै कारण बिरामी भएका अरु सयौं जना अस्पताल भर्ना भएको अधिकारीहरूले सोमबार जानकारी दिएका छन् । उनीहरूले सेवन गरेको रक्सीमा ‘मेथनल’ भन्ने पदार्थ अत्यधिक भएकाले असर गरेको हुन सक्ने विश्वास गरिएको छ । राजधानी मनिलादेखि दक्षिणपूर्वी क्षेत्रमा पर्ने रिजाल भन्ने ठाउँमा भएको हप्तान्त भेलामा सहभागी भएर रक्सी सेवन गरेकाहरूमध्ये केहीको मृत्यु भएको र केही बिरामी भएका हुन् ।

रक्सी सेवन गरेपछि उनीहरूले सुरुमा पेट दुखेको बताएका थिए । बिरामी भएकामध्ये नौ जनाको अवस्था गम्भीर रहेको राजधानी मनिलास्थित फिलिपिन्स जनरल अस्पतालका प्रवक्ता जोसे जोनास डेल रोसारिओले जानकारी दिए । उनीहरू सबैको बिरामीको कारण एउटै देखिएको चिकित्सकहरूको भनाइ छ । क्रिसमसको अवसरमा अत्यधिक माग हुने यस रक्सीको बेचबिखन, वितरण र सेवनमा प्रतिबन्ध लगाउन स्थानीय सरकारले आदेश दिएको छ ।

बजारमा बिक्रीवितरणका लागि पाइने नरिवलको अधिकांश रक्सी स्थानीय बासिन्दाले नै बनाउने गर्दछन् । रक्सी बनाउने अधिकांश स्थानीय बासिन्दा पछाडि पारिएको समुदायका हुने गरेका छन् । पछाडि पारिएको अशिक्षित समुदायले बनाउने यस प्रकारको रक्सीमा गुणस्तर राम्रो नहुने गरेकाले धेरै उपभोक्ता बिरामी हुने गरेको चिकित्सकहरूको भनाइ छ ।

Featured