देश

सिमेन्टमा नयाँ मापदण्ड लागू नगर्न लेखा समितिको निर्देशन

काठमाडौं, पुस ७–प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिले सरकारले हालै कायम गरेको सिमेन्टको नयाँ मापदण्ड तत्काल कार्यान्वयन नगर्न निर्देशन दिएको छ । समितिले उद्योग सचिव यमकुमारी खतिवडा र गुणस्तर विभागका महानिर्देशक विश्वबाबु पुडासैनीसँग सिमेन्टको मापदण्डबारे सोमबार छलफल गर्दै सो निर्देशन दिएको हो ।

गुणस्तर विभागले गत ८ असारमा सिमेन्टमा राखिने रासायनिक पदार्थको मापदण्ड परिवर्तन गर्ने निर्णय कार्यान्वयन गर्दा संरचना निर्माण हानिकारक हुने भन्दै लेखा समितिले सिमेन्टको पुरानै गुणस्तर कार्यान्वयन गर्न निर्देशन दिएको हो । विभागले सिमेन्टमा राखिने म्याग्नेसियम अक्साइड र इन्सोल्युब रेसिड्यु नामको पदार्थको मात्रा हेरफेर गर्ने निर्णय गरेको थियो ।

लेखा समितिका सभापति भरत शाहले विभागले सिमेन्ट उद्योगलाई नयाँ मापदण्ड लागू गर्न पत्राचार गरेपनि लेखा समितिलाई नयाँ मापदण्ड कार्यान्वयनमा नआएको भन्दै झुक्याएको बताए । उद्योग सचिव यमकुमारी खतिवडाले भने अन्यथा नियत राखेर मापदण्ड परिवर्तन नगरेको स्पष्ट पारिन् । उनले यस विषयमा ३ वर्षदेखि प्राविधिक समितिसँग छलफल गरेर नयाँ मापदण्ड लागू गरिएको उनले दाबी गरिन् । समितिले नयाँ मापदण्डबारे थप छलफल गर्ने भन्दै अहिलेलाई पुरानै मापदण्ड लागू गर्न निर्देशन दिएको हो ।

Featured