खेलकुद विदेश

लयमा फर्किदै चेल्सी, टोटनह्याममाथि २–० को जित

एजेन्सी, पुस ७–इंग्लिस प्रिमियर लिगमा चेल्सी पुनः लयमा फर्किएको छ । पछिल्ला खेलमा लगातार खराब प्रदर्शन गरेको चेल्सीले गएराति टोटनह्यामलाई उसकै मैदानमा २–० ले पराजित गरेको हो । चेल्सीको जितमा दुवै गोल ब्राजिलियन खेलाडी विलियनले गरे । १० खेलाडीमा सीमित भएको जोसे मोरिन्होको टिम टोटनह्याम घरेलु मैदानमै उनकै पूर्व टिम चेल्सीसँग पराजित भएको हो । पहिलो हाफमा दुई गोल खाएको टोटनह्याम दोस्रो हाफमा १० खेलाडीमा सीमित भयो । विलियनले खेलको १२ औं मिनेटमा उत्कृष्ट गोल गर्दै चेल्सीलाई सुरुवाति अग्रता दिलाएका थिए ।

पहिलो हाफको इन्जुरी समयमा पाएको पेनाल्टीमा विलियनले व्यक्तिगत दोस्रो गोल गरेपछि चेल्सीको अग्रता दोब्बर भयो । दोस्रो हाफमा टोटनह्याम १० खेलाडीमा सीमित भयो । सन ह्युङ–मिन ६२ औं मिनेटमा सीधै रातो कार्ड पाएर मैदानबाट बाहिरिएका थिए । चेल्सीका एन्टोनियो रुडिगरसँगको ट्याकलका लागि सनले रातो कार्ड पाएका हुन् । रुडिगरले आफूमाथि टोटनह्यामका समर्थकले रंगभेदी व्यवहार गरेको बताएका छन् । जितपछि चेल्सी १८ खेलबाट ३२ अंकसहित चौथो स्थानमा छ भने टोटनह्याम भने २६ अंकसहित सातौँ स्थानमा छ ।

Featured