खेलकुद विदेश

स्टार खेलाडीले भरिएको युभेन्टसलाई हराउँदै लाजियोले जित्यो उपाधि

एजेन्सी, पुस ७–स्टार खेलाडीहरुले भरिएको युभेन्टसलाई पराजित गर्दै लाजिओले इटालियन सुपर कपको उपाधि जितेको छ । गएराति साउदी अरबको रियादमा भएको फाइनल खेलमा लाजिओले युभेन्टसलाई ३–१ ले पराजित गरेर उपाधि उचालेको हो । लाजियोले क्रिष्टियानो रोनाल्डो, पाउलो डिबालाजस्ता स्टार खेलाडीसहितको युभेन्टसलाई पराजित गर्दै उपाधि जितेको हो । लाजिओका लागि खेलको १६ औं मिनेटमा लुइस अल्बर्टोले गोल गरेका थिए ।

खेलको ४५ औं मिनेटमा पाउलो डिबालाले युभेन्टसका लागि बराबरी गोल फर्काए । तर ७३ औं मिनेटमा सेनाड लुलिक र इन्जुरी समयको चौथो मिनेटमा डानिलो काताल्दीले गोल गरेपछि लाजियो ३–१ ले विजयी भयो । लगातार आठौं सिजन सुपर कपको फाइनलमा पुगेको युभेन्टसले चार पटक उपाधि जितेको छ भने चार पटक उपविजेता बनेको छ । यी मध्ये चार फाइनल खेल लाजियोसँगै भएका छन् ।

Featured