देश

जिल्लाकै एक मात्र एम्बुलेन्स आठ महिनादेखि बिरामी

जाजरकोट, पुस ६–सिंहदरबार गाउँमै ल्याउने भन्दै सिंहदरबार छिरेका जनप्रतिनिधि गाउँ छिर्दा सरकारी गाडी मगाउँछन् । गाडी पुग्न सक्ने गाउँ सरकारी गाडीमै घुम्छन् । सदरमुकाम खलंगामा एउटा जिल्ला अस्पताल छ ५० शय्याको । गाडी पुग्ने गाउँमा आठ महिनाअघिसम्म एउटा एम्बुलेन्सले बिरामी अस्पताल ल्याउँथ्यो । तर, आठ महिना भयो, सरकारी अस्पतालको एक मात्र एम्बुलेन्स बिग्रिएको (बिरामी भएको) ।

जिल्ला अस्पताल जाजरकोटको बा२झ १७३६ नम्बरको एम्बुलेन्स बिग्रिएको आठ महिना बित्यो । अहिले सो एम्बुलेन्स नेपालगञ्जस्थित एउटा ग्यारेजमा लगेर थन्क्याइएको छ । यो अवधिमा सिंहदरवार छिरेका थुप्रै नेता गाउँ आए । उनका आफन्तलाई पनि डोकोमा बोकेर धेरै पटक जिल्ला अस्पतालमा उपचारका लागि लगियो पनि । तर, न एम्बुलेन्स पुनस् सञ्चालन गर्न जनप्रतिनिधिले चासो दिए, न अस्पतालले नै ।

आठ महिनादेखि एम्बुलेन्स मर्मत हुन सकेको छैन । मर्मतका लागि अस्पतालले मन्त्रालय र विभागमा परिपत्र गरेको पनि सुनुवाइ नभएको बताइन्छ । अस्पतालको एक मात्र एम्बुलेन्स बिग्रिएपछि जिल्लाको स्वास्थ्य सेवा प्रभावित भएको अस्पतालका प्रमुख डा. रविन भुसाल बताउँछन् । २०७१ सालमा स्वास्थ्य विभागले अस्पतालाई एम्बुलेन्स उपलब्ध गराएको थियो । तर, मर्मत गर्न आवश्यक तीन लाख रुपैयाँ बजेट नहुँदा ग्यारेजमा थन्किएको उनको भनाइ छ ।

प्रदेश सरकारमातहत रहेको जिल्ला अस्पतालमा नयाँ एम्बुलेन्सको माग गरिएको अस्पताल विकास समितिका अध्यक्ष धर्म्शिला बस्नेत बताउँछिन । कर्णाली प्रदेश सरकार सामाजिक विकास मन्त्रालयमा एम्बुलेन्सको व्यवस्था गरिदिन माग गरे पनि कुनै चासो नदेखाइएको उनको भनाइ छ । जिल्ला अस्पतालमा एम्बुलेन्स नहुँदा गाउँगाउँबाट बिरामीलाई डोकोमा बोकेर अस्पताल र्पुयाउनुपर्ने बाध्यता छ । कतिपय सुत्केरीले समयमा अस्पताल पुग्न नपाउँदा बाटोमा नै बच्चा जन्माउने गरेका छन् ।

Featured