देश

राजवंशी समाजको २६ औं स्थापना दिवस भव्यरूपमा सम्पन्न

विराटनगर, पुस ६–राजवंशी समाज विकास केन्द्रीय समितिको २६ औं स्थापना दिवस भव्यरूपमा सम्पन्न भएको छ । मोरङको कटहरी गाउँपालिका–३ मा शनिवार प्रदेश नं.१ का मुख्यमन्त्री शेरधन राईले समितिको भवन उद्घाटन गर्दै दिवसको उद्घाटन गर्र्दै दिवशको शुभकामना दिएका थिए । सो अबसरमा मुख्यमन्त्री राईले प्रदेश नं. १ मा करिब २ लाखको संख्यामा रहेका राजवंशी जातीको राज्यका सवै तहमा सहभागीता प्रदेशको समृद्धि र विकासको कल्पना गर्न नसकिने बताएका थिए ।

कार्यक्रमका मुख्यमन्त्री राईले १० वर्ष भित्रमा प्रदेश नं. १ लाई सबै जातजातिको भाषा, संस्कृति, पहिचानलाई संरक्षण गरि नमुना प्रदेशको रूपमा विकास गरिने बताए । दिवसको समापन समारोहमा आइतबार १ नं. प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मतकुमार काकीले विभिन्न जातजातीका मौलिक साँस्कृतिक परम्परा, रीतिरिवाज , रहनसहन र भेषभुषा मुलुकका महत्वपूर्ण सम्पती रहेको बताउँदै संस्कृतिको जगेर्ना र प्रवर्द्धन प्रदेश सरकारले गर्ने बताए ।

पुस ४ गतेदेखी ६ गते सम्म मनाइएको स्थापना दिवसको अवसरमा समितिले समाज परिवर्तनका लागि विशिष्ट योगदान गर्ने १० जनालाई सम्मान गरेको छ । राजवंशी समाज विकास समितिको भवन निर्माणका लागि कटहरी गाउँपालिका–३ मा ५ कठ्ठा जग्गा दिने केशराज राजवंशी र निर्मला देवी राजवंशी, स्व. चैतुलाल राजवंशी, स्व. हंस नारायण राजवंशी, स्व. गोपालचन्द्र राजवंशी, स्व. भटुमलाल गैदारका परिवार, डा. नुनिलाल राजवंशी, राष्ट्रिय कबड्डी प्रशिक्षक विकुलाल चौधरी, प्रशिक्षक रतिया राजवंशी, मशिला कबडी प्रशिक्षक मेनुका राजवंशी, कोच गायक दिलकुमार राजवंशी, मार्शल आर्ट गोल्ड मेडलिष्ट रामकुमार राजवंशीलाई दोसल्ला ओढाई सम्मान गरिएको थियो ।

कार्यक्रममा प्रदेश नं. १ का सामाजिक विकास मन्त्री जीवन घिमिरे, प्रदेश सांसदहरू पुर्ण सिंह राजवंशी, ज्ञानेश्वर राजवंशी, विद्यानन्द चौधरीलगायत विभिन्न जातीय संघसंस्थाका प्रतिनिधि, समाजसेवी, जनप्रतिनिधिहरूको सहभागिता थियो । परम्परागत रितिरिवाज, लोक सांस्कृतिक गीत संगीत स्थानिय तथा बंगाल, आसाम विहारका कलाकारहरूको भव्य प्रस्तुति रहेको कार्यक्रममा राजवंशी समाज विकास समितिका केन्द्रीय अध्यक्ष तथा पुर्व गृहराज्यमन्त्री भीमराज चौधरी राजवंशीले सभापतित्व गरेका थिए ।

कार्यक्रममा जातीय पोशाक, झल्ला, झालङ्ग, विछ्यौना र झला, भाका एवम् पिठ्ठ, राजवंशी जातीका ईतिहासका झल्कने पुस्तकलगायतका स्टल राखिनुका साथै जातिय खानपिन, घरायसी सरसमानको प्रदर्शनी लगायतका स्टलहरू राखिएको थियो । मुख्यमन्त्री राईले उद्घाटन गरेको राजवंशी समाज विकास समितिको भवन आदिवासी जनजाती राष्ट्रिय प्रतिष्ठानबाट २३ लाख, प्रदेश नं. १ का सामाजिक विकासमन्त्री एवम् सो क्षेत्रमा प्रदेश सांसद जिवन घिमिरको निर्वाचन क्षेत्र विकास कोषको १५ लाख रुवपैयाँ, नेपाल सरकारको तराई मधेश समृद्धि कार्यक्रम एवम् अन्य सहयोगी दाताको चन्दाबाट ८१ लाख रूपैयाँकको लागतमा निर्माण गरिएको समितिका सचिव चन्द्रप्रसाद राजवंशीले जानकारी दिए ।

समितिले पुस ४ गते विहान सरसफाई तथा रत्तदान कार्यक्रम, पुस ५ गते भवन उद्वघाटन तथा स्थापना दिवस र पुस ६ गते स्थानिय तथा आसाम, बंगाल, विहारका कलाकारद्वारा जातिय लोक संस्कृति झल्कने विभिन्न गीत संगीत प्रस्तुत गरेको केन्द्रीय सदस्य कमल राजवंशीले बताए । कार्यक्रममा झापा, मोरङ्ग, सुनसरी तथा भारतको आसाम, बंगाल, विहारलगायतका स्थानबाट जातिय पहिरनमा कार्यक्रममा सहभागी भएका थिए । समितिले आफ्नो स्थापना दिवस ‘जाग, उठ, बुझ, कोच राजवंशी सभाय, पहिचान बचाते गर्व करि नेपाल देश वेनाय’ मुल नारासहित मनाएको हो ।

Featured