देश राजनीति

नेकपा स्थायी कमिटी :वामदेवलाई उपाध्यक्ष, सचिवालयलाई एमसीसी

काठमाडौं, पुस ६–सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठकले अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’को राजनीतिक प्रतिवेदन संशोधनसहित पारित गरेको छ । आइतबार पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बसेको स्थायी कमिटी बैठकले छलफलका क्रममा आएका टिप्पणी, सुझाव र आलोचनासहित परिमार्जन गरी राजनीतिक प्रतिवेदन पारित गरेको वरिष्ठ नेता झलनाथ खनालले जानकारी दिए । दुई अध्यक्षका तर्फबाट प्रचण्डले स्थायी कमिटीमा राजनीतिक प्रतिवेदन पेश गरेका थिए ।

वामदेव उपाध्यक्ष
बैठकले वामदेव गौतमलाई उपाध्यक्ष बनाउने प्रस्ताव पनि पारित गरेको छ । महासचिव विष्णु पौडेलले राखेको विधान संशोधन प्रस्ताव स्थायी कमिटीले पारित गरेसँगै गौतमलाई उपाध्यक्ष बनाउने बाटो खुलेको हो । यद्यपि, यो निर्णय केन्द्रीय कमिटी बैठकले अनुमोदन गर्नुपर्ने छ । यसअघि नेकपामा उपाध्यक्ष रहने व्यवस्था थिएन । अब भने एक उपाध्यक्ष रहने व्यवस्था विधानमै हुने भएको छ । सचिवालय बैठकले उपाध्यक्ष बनाउने निर्णय गर्दै विधान संशोधन प्रस्ताव गरेको थियो ।

एमसीसीको जिम्मा सचिवालयलाई
बैठकले मिलेनियम कर्पोरेसन च्यालेन्ज (एमसीसी) बारे विवाद समाधान गरी आवश्यक धारणा बनाउने जिम्मेवारी सचिवालयलाई दिएको छ । बैठकमा कतिपय स्थायी कमिटी सदस्यले एमसीसी सम्झौता नेपालको हितमा नभएको बताएका थिए । यो इन्डो प्यासिफिक रणनीतिअन्तर्गत रहेकाले यसबारे हतारमा निर्णय नलिन उनीहरूले नेतृत्वलाई सुझाएका थिए ।

बैठकले प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीको शीघ्र स्वास्थ्य लाभको कामना पनि गरेको छ । २९ मंसिरदेखि चलेको स्थायी कमिटी बैठक आइतबार सकिएको हो । बैठकमा अध्यक्ष प्रचण्ड र महासचिव पौडेलले पेश गरेका बेग्लाबेग्लै प्रतिवेदनमाथि सदस्यहरूले धारणा राखेका थिए । स्थायी कमिटीका निर्णयलाई २३ पुसमा बस्ने केन्द्रीय कमिटी बैठकमा छलफल गरी अनुमोदन गराइने नेकपाका नेताहरूले बताएका छन् ।

Featured