देश

विप्लवको युवा संगठनलाई छिन्न भिन्न पारेको प्रहरीको दाबी

काठमाडौं, पुस ६–प्रहरीको विशेष ब्युरोले आइतबार नेत्रविक्रम चन्द (विप्वल) नेतृत्वको नेकपाको युवा संगठनलाई छिन्न भिन्न पारेको दाबी गरेको छ । युवा संगठनकै केन्द्रीय सचिव, कोषाध्यक्ष र उपत्यका इन्चार्जसहित ६ जना केन्द्रीय सदस्य नै पक्राउ गरेपछि संगठन छिन्नभिन्न भएको प्रहरीको दाबी छ । प्रहरीको विशेष ब्युरोबाट खटिएको टोलीले काठमाडौंको बूढानीलकण्ठस्थित संगठनको कार्यालयमै छापा मारेर उनीहरूलाई नियन्त्रणमा लिएको हो ।

पक्राउ पर्नेमा केन्द्रीय सचिव सञ्जीव लामा, केन्द्रीय कोषाध्यक्ष तिलकबहादुर गुरुङ, केन्द्रीय कार्यालयका सचिव वकिल घर्तीमगर, उपत्यका इन्चार्ज राजु घिमिरे, सोलुखुम्बुका इन्चार्ज त्रिलोचन विक र दुर्गाबहादुर तामाङ छन् । प्रहरीले उनीसँगै विस्फोटक पदार्थ, पेस्तोल, गोली, प्रेसर कुकर बम, बम बनाउन प्रयोग हुने कच्चा पदार्थसमेत बरामद गरेको छ । प्रहरीका अनुसार २४ फागुन २०७५ मा वैदेशिक रोजगार व्यवसायी संघका तत्कालीन अध्यक्ष रोहन गुरुङको घरमा शक्तिशाली बम विस्फोटनको घटनाका योजनाकार समेत विप्लवको युवा संगठन थियो ।

घटना लगत्तै सचिव लामाले आफ्नो संगठनको नेतृत्वमा गुरुङको घरमा बम विस्फोट गराएको भन्दै विज्ञप्ति नै जारी गरेको थियो । विस्फोटनमा परी काठमाडौं–३ का शैलेन्द्र खड्का, मिलन बस्नेत, ममता गौतम र दिवाकर गुरुङ घाइते भएका थिए । त्यस्तै विस्फोटनबाट गुरुङले चढ्दै आएको बा१०च ६७८९ नम्बरको गाडीसमेत जलेर नष्ट भएको थियो ।

Featured