देश

स्वास्थ्य चौकी हिउँले ढाकेपछि सुत्केरीलाई समस्या

बझाङ, पुस ६–बझाङको साइपाल गाउँपालिकामा अत्यधिक चिसोका कारण स्वास्थ्य सेवा प्रभावित बनेको छ । विद्युत्, खानेपानी, स्वास्थ्यकर्मीदेखि औषधि र उपकरण अभाव भइरहने यहाँका स्वास्थ्य संस्थाहरूले प्रदान गर्ने सेवा चिसोका कारण प्रभावित बनेको हो । हिमपात भएपछि विशेष गरी सुत्केरी गराउन समस्या भएको धलौन सामुदायिक स्वास्थ्य चौकीका अहेव रकेट बोहराले बताए । बर्थिङ सेन्टरसहितको आधारभूत स्वास्थ्य चौकीमा विद्युत सेवा उपलब्ध नहुँदा आगो बालेर सुत्केरी गराउनुपर्ने बाध्यता रहेको अनमी ज्योति विकको भनाइ छ ।

वर्षा र हिमपातले घाम नपर्दा सौर्य ऊर्जा अभाव भएको छ । जसका कारण अँध्यारोमा टर्च वा आगो बालेर सुत्केरी गराउनुपर्ने बाध्यता रहेको उनले बताइन् । साइपाल गाउँपालिका अध्यक्ष राजेन्द्र धामीले पनि स्वास्थ्य चौकीमा हिउँ अझै जमिरहेकाले औषधि अभाव र स्वास्थ्यकर्मीको अनुपस्थितिले समस्या परेको बताए । उनले भने, ‘हिमपात भइरहने र भौगोलिक हिसाबले पनि निकै विकट भएकाले स्वास्थ्यकर्मी कर्मचारीहरू नियमित उपस्थित हुन सकिरहेका छैनन् । औषधि पनि पर्याप्त छैन । सुत्केरीहरूलाई झन् समस्या छ । सरकारले पनि साइपाल गाउँपालिकालाई त्यति राम्रोसँग हेरेको छैन ।’ यसअघि साइपाल गाउँपालिकामा सुत्केरी गराउन पर्याप्त जनशक्ति, स्रोत साधन नहुँदा २ जना सुत्केरीलाई हेलिकोप्टरमार्फत उद्धार गरेर जिल्ला अस्पताल सिमखेत ल्याइएको थियो ।

Featured