काठमाडौं, पुस ६–नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपाले दैलेखको ठाँटीकाँध गाउँपालिकाका अध्यक्ष धीरबहादुर शाहीलाई अपहरणमुक्त नभई पक्राउ गरेको भन्दै विज्ञप्ति जारी गरेको केही बेरमै सेनाले अध्यक्ष शाहीलाई अपहरणमुक्त गरेको जनाएको छ । विप्लव समूहका कार्यकर्ताले अपहरण गरेको भनिएका शाहीलाई सेनाको हवाई गस्ती टोलीले आइतबार साँझ कालीकोटको जंगलमाबाट भेटेको बताइएको छ ।
शाहीलाई कालिकोटको शुभकालिका गाउँपालिकामा फेला पारिएको सुरक्षा निकायको दाबी छ । विप्लव समूहले प्रेस विज्ञप्ति जारी गरेर घटनाको जिम्मेवारी लिदै अपहरण नभई भ्रष्टाचार अभियोगमा कारबाहीका लागि पक्राउ गरिएको दाबी गरेको थियो । शनिबार राति करिब २ बजे शाही र उनकी पत्नी इला घरमा सुतिरहेकै बेला अपहरणमा परेका थिए । इलालाई केही समयपछि छाडिए पनि शाही भने विप्लव कार्यकर्ताकै नियन्त्रणमा थिए ।
प्रतिक्रिया दिनुहोस