देश

वैदेशिक स्रोतको रकम फुकुवा नहुँदा कर्मचारीले तलब पाएनन्

कञ्चनपुर, पुस ५–वैदेशिक स्रोतको रकम फुकुवा नहुँदा जिल्लाका स्थानीय तहका कर्मचारीले दुई महिनादेखि तलब पाउन सकेका छैनन् । कोष तथा लेखा नियन्त्रण कार्यालयबाट सशर्त अनुदान रकमको दोस्रो चौमासिकको निकासा नहुँदा कर्मचारीले कात्तिक र मङ्सिरको तलब पाउन नसकेका हुन् । रकम फुकुवाको निर्णय महालेखा नियन्त्रण कार्यालयले गर्ने भए पनि अहिलेसम्म रकम फुकुवा हुन नसक्दा कर्मचारीले तलब पाउन नसकेको शुक्लाफाँटा नगरपालिका कार्यालयका लेखापाल महेशदत्त जोशीले बताए ।

उनका अनुसार सर्शत अनुदानअन्तर्गत तलब पाउनेमा विद्यालयका शिक्षक, कर्मचारी, बालविकासका सहजकर्ता, नगरपालिका स्वास्थ्य शाखाका कर्मचारी, आयुर्वेद औषालयका कर्मचारीलगायत छन् । “वैदेशिक स्रोतको रकम फुकुवा नहुँदा शिक्षक र कर्मचारीले तलब पाउन सकेका छैनन्”, उनले भने, ‘विद्यालयको विभिन्न शीर्षकको अनुदान र स्वास्थ्य शाखाअन्तर्गतका कार्यक्रमसमेत प्रभावित भएका छन् ।’ जिल्लाका विद्यालयका शिक्षक, कर्मचारी र स्वास्थ्यतर्फका कर्मचारीले तलब पाएका छैनन् । रासस

Featured