खेलकुद देश

काठमाडौं म्याराथनमा कान्छीमाया कोजुको ह्याट्रिक

काठमाडौं, पुस ५–नेपाल एपीएफ क्लबकी कान्छीमाया कोजुले काठमाडौं म्याराथनमा उपाधिको ह्याट्रिक गरेकी छन् । शनिबार सम्पन्न १३औं संस्करणको काठमाडौं म्याराथनमा निर्धा्रित दूरी २ घन्टा ५७ मिनेट २७ सेकेन्डमा पूरा गर्दै कान्छीमाया लगातार तेस्रो पटक च्याम्पियन बनेकी हुन् । यस्तै, सरिता बासी ३ घण्टा १९ मिनेट ७ सेकेण्डमा निर्धा्रित दूरी पार गर्दै दोस्रो भइन् भने ३ घण्टा ४७ मिनेट ४५ सेकेण्डमा म्याराथन पूरा गरेकी निर्जला ताम्राकार तेस्रो भइन् ।

पुरुषतर्फ विभागीय टिम त्रिभुवन आर्मी क्लबले वर्चस्व कायम गर्न सफल भयो । तीनवटै शीर्षस्थान आर्मीका खेलाडीले हात पार्न सफल भए । २ घण्टा ३३ मिनेट १० सेकेन्डमा दूरी पूरा गर्दै नरेन्द्र सिंह रावल च्याम्पियन बने । आर्मीकै वेदबहादुर सुनारले निर्धा्रित दूरी २ घन्टा ३४ मिनेट २० सेकेन्डमा पूरा गर्दै दोस्रो स्थान हासिल गरे भने ज्ञानप्रसाद भट्टराईले २ घन्टा ३४ मिनेट ४५ सेकेन्डमा दौड पूरा गर्दै तेस्रो स्थान हासिल गर्न सफल भए ।

यस्तै, हाफ म्याराथनमा पनि आर्मीकै दबदबा रह्यो । आर्मीका राजन रोकाया निर्धा्रित दूरी १ घण्टा १० मिनेट २६ सेकेण्डमा पूरा गर्दै पहिलो भए भने आर्मीकै हरि रिमाल दोस्रो र रामजी बस्नेत तेस्रो भए । महिला हाफ म्याराथनमा आर्मीकै पूर्णलक्ष्मी न्यौपानेले १ घण्टा २८ मिनेट ३ सेकेण्डमा दूरी पूरा गर्दै पहिलो भइन् । आर्मीकै सानुमाया कार्की दोस्रो हुँदा पुलिस क्लबकी रेखा विष्टले तेस्रो स्थान हासिल गरिन् । ५ किलोमिटर दौडमा भने एपीएफका अजितकुमार यादव पहिलो भए । महिलामा आर्मीकी सरस्वती भट्टराई प्रथम हुन सफल भइन् । यसैगरी, ह्वीलचेयरतर्फ पुरुषमा कृष्णलाल चौधरी र महिलामा यानी झाँक्री मगर पहिलो भए ।

Featured