देश

किटनाशक औषधीको गोदाममा भीषण आगालागी

काठमाडौं, पुस ५–नागार्जुन नगरपालिका–४, सोल्टी दोबाटोमा रहेको गणेश मन्दिर नजिकै रविन मानन्धरको कीटनाशक औषधीको गोदाममा आगलागी भएको छ । मानन्धरद्वारा सञ्चालित सायमी इन्ट्रप्राइजेजको गोदाममा ४ बजेबाट आगलागी सुरु भएको प्रहरीले जनाएको छ ।

उक्त गोदाममा लामखुट्टे, साङ्ला, झिँगा मार्ने लिक्विडलगायतका विभिन्न केमिकल रहेका कारण आगो छिट्टै सल्किएको थियो । जुद्ध वारुण यन्त्रका दुई, नेपाली सेनाको दुई र किर्तीपुर नगरपालिकाको एक गरि कुल ५ वटा दमकलले आगो निभाएका थिए । पाँचवटा दमकलको प्रयासमा ५ः३० बजे आगो नियन्त्रणमा आएको नेपाली सेनाले जानकारी दिएको छ ।

आगलागीमा परि ३ वटा मारुती भ्यान, एउटा कार, एउटा मोटरसाइकल र ३ वटा स्कुटर पूर्णरुपमा क्षतिग्रस्त भएका छन् । आगलागीबाट भएको थप क्षतीको विवरण भने आउन बाँकी नै छ । आगो नियन्त्रणका लागि नेपाली सेनाका सेनानी तिर्थराज गौतमको नेतृत्व करिब १५० सेना, नेपाल प्रहरीका डिएसपी लालध्वज सुवेदीको नेतृत्वमा ५० प्रहरी र सशस्त्र प्रहरी बलका एसपी दिबेन्द्र साहको नेतृत्वमा ४५ जना सुरक्षाकर्मी खटिएका थिए ।

Featured