बझाङ, पुस ५–एक महिनाअघि जयपृथ्वी नगरपालिका–१ कैलाशमा मृत भेटिएका १६ वर्षीय मञ्जन विकको घटनामा प्रहरीले लापरबाही गरेको मृतकका आफन्तले आरोप लगाएका छन् । मृतक विकको हत्या भएको भन्दै परिवारले प्रहरीमा किटानी जाहेरी दिएका थिए । परिवारले आरोप लगाएका व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएर सामान्य सोधपुछपछि छाडेको भन्दै परिवारले अनुसन्धान विस्तृत बनाउन अनुरोध गरेका छन् ।
विकको शव गत कात्तिकमा घरबाट बेपत्ता भएको १५ दिनपछि कैलाशकै कुलाडाँडा भन्ने स्थानमा झाडीभित्र कपडा र अस्थिपञ्जर फेला परेको थियो । उक्त बेवारिसे शव मञ्जनको भएको एकिन भएपछि स्थानीय सन्तोस सिंह र रामदेवी सिंहलाई प्रहरीले अनुसन्धानका लागि नियन्त्रणमा लिएको थियो । तर नियन्त्रणमा लिएको केही समयपछि प्रहरीले साधारण सोधपुछ गरेर छोडेको र अनुसन्धानमा लागिरहेको भन्दै प्रहरीले एक महिनासम्म झुलाएको आफन्तको आरोप छ ।
मृतक विकले राति १० बजेसम्म स्थानीय रामदेवी सिंहसँग कुरा गरेको कल डिटेल मृतकका आफन्तसँग सुरक्षित भए पनि प्रहरीले थप अनुसन्धान गरेर दोषीलाई पत्ता लगाउन नसकेको मृतकका आफन्त कमल विकले बताए । मञ्जनको रामदेवी सिंहसँगको प्रेम सम्बन्धका कारण केटीतर्फका केटाहरूले हत्या गरेको पीडित परिवारको दाबी छ । जिल्ला प्रहरी कार्यालयका प्रमुख डीएसपी गणेश बमले घटनालाई गम्भीर रूपमा नलिएको परिवारको भनाइ छ ।
प्रहरी र आफन्तहरुले अनुसन्धान गर्दा मञ्जन बेपत्ता भएको दिनमा राती १० बजे रामदेवी सिंहसँग लामो टेलिफोन भएको र उनले नै घरबाहिर बोलाएको फोनकल अडियो भेटाएको थियो । कमलले भने, ‘एकै गाउँमा रहेका दलितको छोराले ठकुरीकी छोरीसँग प्रेम गरेको जानकारी भएपछि केटी पक्षका केटाहरूले बोलाउन लगाएर राति हत्या गरेको हाम्रो बुझाइ छ ।’
प्रहरीले मन्जनको प्रेम सम्बन्ध भएकी रामदेवी सिंह र उनका दाई सन्तोष सिंहलाई अनुसन्धानका लागि नियन्त्रणमा लिए पनि दुव्र्यवहार गरेको सार्वजनिक मुद्दा लगाई १० हजार जरिवाना लिएर जिल्ला प्रशासनबाट सामान्य भन्दै छुटाएको छ । पीडित पक्षले भने सन्तोष सिंहलगायत अन्य चार÷पाँच जनाको नाममा हत्याको आरापमा मुद्दा दर्ता गर्न खोजे पनि उल्टो प्रहरीले मुद्दा दर्ता गर्न नमानेको बताएको छ । प्रहरीले मुद्दा दर्ता नगरेपछि परिवारले प्रशासनमा मुद्दा दर्ता गराएका थिए ।
सहायक प्रमुख जिल्ला अधिकारी रामबहादुर शार्कीले जिल्ला प्रशासनमा पीडितहरूको जाहेरी बुझेर प्रहरी कार्यालयमा पठाएको हुँदा अनुसन्धान अघि बढ्ने जानकारी दिए । मंसिर पहिलो सातादेखी मुद्दाको प्रक्रियामा लागेको पीडित परिवार मंसिर १५ गतेमात्र दर्ता भएको थियो । हरी नायब उपरिक्षक गणेश बमले घटनाको अनुसन्धान भइरहेकाले यसबारे अहिले केही बोल्न नमिल्ने बताए । उनले प्रमाण जुटाउनमा समस्या भएकाले पीडक भनिएकालाई लामो समय हिरासतमा राख्न नमिलेको बताए ।
प्रतिक्रिया दिनुहोस