देश

संसदीय समितिको ‘कठघरा’मा यातायातमन्त्री

काठमाडौं, पुस ५–पछिल्लो समय सडक दुर्घटनाका कारण जनधनको ठूलो क्षति भएपछि दुर्घटना न्यूनीकरणबारे सडकदेखि सदनसम्म चासो बढेर गएको छ । दिनप्रतिदिन दुर्घटना बढेपछि राष्ट्रपतिदेखि प्रधानमन्त्रीसम्मले दुर्घटना न्यूनीकरण गर्ने विषयमा चासो देखाएका छन् । प्रतिनिधिसभाअन्तर्गत विकास तथा प्रविधि समितिले शुक्रबार भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्तकुमार नेम्बाङसहितलाई बोलाएर दुर्घटना न्यूनीकरणबारे छलफल गरेको छ । छलफलमा दुर्घटना रोक्न सबै पक्षको महत्व रहेको भन्दै मन्त्री नेम्बाङले सवारी दुर्घटना न्यूनीकरण तथा रोकथाम गर्न योजना बनाएरै अघि बढेको जानकारी गराए ।

उनले सडक दुर्घटनाप्रति राष्ट्रपति न्यूनीकरणका लागि चासो देखाएको र प्रधानमन्त्रीले दुर्घटना न्युनीकरण गर्न निर्देशन दिएको उल्लेख गर्दै विशेष पहल भइरहेको बताए । समितिको बैठकमा बोलाइएका मन्त्री नेम्वाङले सवारी दुर्घटनाजस्तो महत्वपूर्ण विषयलाई त्यति धेरै महत्व भने दिएनन् । संक्षिप्त रूपमा आफ्नो कुरा राखेर उनी राजदूतलाई भेट्न छ भन्दै निस्किएका थिए । आफ्नो कुरा राख्ने क्रममा उनले गृह मन्त्रलाय, भौतिक मन्त्रालयलगायत सरोकारवाला निकायहरूसँग गहन छलफल गरेर सवारी दुर्घटना न्यूनीकरण र रोकथामका लागि प्रतिवेदन तयार गरिएको बताएका थिए ।

उनले दुर्घटना कम गर्न सरकारले नीतिगत रूपमा के गर्नु पर्दछ अल्पकालीन, मध्यकालीन र दीर्घकालीन रूपमा त्यससम्बन्धी कानुन, नियमावली र विधेयकका रूपमा अघि बढाउनेतर्फ मन्त्रालय लागेको बताएका थिए । मन्त्रालयका सचिव देवेन्द्र कार्कीले सडक दुर्घटना न्यूनीकरण गर्न मन्त्रालय एक्लैले नसक्ने बताएका छन् । कार्कीले सडकको क्षेत्रमा मन्त्रालयसँगै, प्रदेश सरकार तथा स्थानीय सरकारले समेत काम गरिरहेकाले सडक दुर्घटना न्यूनीकरणका लागि सबै पक्षको समन्वय आवश्यक रहेको बताए ।

उनले देशभर ८० हजार किलोमिटरभन्दा बढी सडक रहेकोमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गत १२ हजार किलोमिटर सडक रहेकाले मन्त्रालय एक्लैले सडक दुर्घटना कम गर्न नसक्ने बताए । उनले पछिल्लो समय सडकका कारणले भन्दा पनि मानवीय र यान्त्रिक गडबडीका कारण दुर्घटना हुने गरेको बताए । त्यसको नियन्त्रण गर्ने काम सरकारको भएको र सबै तहका सरकारबीच समन्वय हुन आवश्यक रहेको बताएका छन् । महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख तथा प्रहरी वरिष्ठ उपरीक्षक भीम ढ्कालले सडकको क्षमताभन्दा धेरै सवारीसाधन सञ्चालनमा आउँदा दुर्घटना बढेको बताएका छन् । राजधानीभित्रको सडकबिना इन्जिनियरिङ निर्माण गरिएको तथा सडक अतिक्रमण हुने र कतिपय सडकको अवस्था जीर्ण भएकोले पनि दुर्घटना भएको बताए ।

नेपालमा सडक दुर्घटना प्रत्येक वर्ष बढ्दै गएको छ । तथ्यांकअनुसार आर्थिक वर्ष २०७४÷७५ मा देशभर १० हजार ९ सय ६५ वटा दुर्घटना भएको र २ हजार ५ सय ४१ जनाको मृत्यु भएको छ । आर्थिक वर्ष २०७५७६ मा सडक दुर्घटनाको संख्या बढेर १३ हजार ३ सय ६६ पुगेको छ भने दुर्घटनामा मृत्यु हुनेको संख्या २ हजार ७ सय ८९ पुगेको छ । त्यस्तै, चालू आर्थिक वर्षको मंसिर १७ गते सम्म ६ हजार ९ सय १२ दुर्घटना भएको र ९ सय ३१ जनाको मृत्यु भएको छ । यो समाचार आजको राजधानी दैनिकले छापेको छ ।

Featured