विदेश

रिपब्लिकन पार्टीले भन्यो, महाभियोग पक्षपातपूर्ण आक्रोशबाट अघि बढाइएको कदम’

एजेन्सी, पुस ४–अमेरिकी संसदको माथिल्लो सदन सिनेटमा रिपब्लिकन पार्टीका नेता मिच मक्कनेलले राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्धको महाभियोग इतिहासकै सबैभन्दा हतारमा गरिएको र अनुचित भएको आरोप लगाएका छन् । डेमोक्रेटले नेतृत्व गरेको तल्लो सदन प्रतिनिधि सभाले बुधबारराति मात्रै ट्रम्पमाथि महाअभियोग लगाउने प्रस्ताव पारित गरेको थियो । उनले पक्षपातपूर्ण आक्रोश पोख्दा त्यसले भविष्यका लागि एउटा विषाक्त नजिर बसाउने बताए ।

तर डेमोक्रेट नेता चक शुमरले भने मक्कनेलले राष्ट्रपतिका कदमको बचाउमा केही नबोलेको बताएका छन् । आफ्नो भाषणमा मिच मक्कनेलले १२ साता लामो अनुसन्धानले अमेरिकी प्रजातन्त्रका संस्थाहरूमाथि क्षति र्पुयाउन सक्ने चेतावनी दिए । उनले ट्रम्पले कुनै कानुन तोडेका छन् भन्ने पुष्टि गर्न पनि सदन विफल भएको बताए । संसद्को तल्लो सदनले ट्रम्पमाथि लागेका दुवैवटा आरोपमा उनलाई महाभियोग लगाउने पक्षमा बहुमत दिएको थियो ।

राष्ट्रपतिले आफ्नो शक्तिको दुरुपयोग गरेको र सन् २०२० मा हुने मतदानमा पुनः निर्वा्चित हुने सम्भावना बलियो बनाउनका लागि युक्रेनसँग अनुचित तरिकाले सहायता मागेको आरोप उनीमाथि लागेको थियो । ट्रम्पले अब त्यसबारेको सुनुवाइको सामना माथिल्लो सदनमा गर्नुपर्नेछ । सिनेटमा रिपब्लिकनहरूको बाहुल्यता रहेकाले ट्रम्पलाई पदबाट हटाउने सम्भावना लगभग छैन । तल्लो सदनका करिब सबै डेमोक्रेटले अभियोगको पक्षमा मतदान गरेका थिए भने रिपब्लिकनले त्यसको विपक्षमा मत दिएका थिए । अमेरिकी इतिहासमा सिनेटमा सुनुवाइको सामना गर्नुपर्ने ट्रम्प तेस्रो राष्ट्रपति भएका छन् ।

Featured