देश

संसद्को हिउँदे अधिवेशन आजदेखि, उपसभामुखले अध्यक्षता गर्ने

काठमाडौं, पुस ४–संसदको हिउँदे अधिवेशन आजदेखि सुरु हुँदैछ । बैठकको उपसभामुख शिवमाया तुम्बाहाङफेले अध्यक्षता गर्ने भएकी छन्। सभामुख नभएको अवस्थामा उपसभामुखले संसद बैठकको अध्यक्षता गर्ने संवैधानिक व्यवस्था भएपनि प्रतिनिधिसभा नियमावली र संसदीय अभ्यासमा उपसभामुखलाई अध्यक्षता गर्न दिँदैन ।

संविधानको धारा ९१ को उपधारा (४) मा प्रतिनिधिसभाको सभामुखको अनुपस्थितिमा उपसभामुखले अध्यक्षता गर्ने व्यवस्था भएपनि प्रतिनिधिसभा नियमावलीमा भने बैठकको प्रारम्भ र स्थगन सभामुखले मात्र गर्न पाउने प्रावधान छ । यस्तो अवस्थामा बैठकको अध्यक्षता कसले गर्ने भन्ने कुरा चासो र अन्योलको विषय बनेको थियो । तर शुक्रबार सुरु हुन लागेको संसद् अधिवेशनको अध्यक्षता उपसभामुखले नै गर्ने टुंगो लागेको उनको सचिवालयले जनाएको छ। नियमावलीभन्दा संविधान माथि हुने भन्दै उपसभामुखलाई अध्यक्षता गराउन सत्तारुढ नेकपा तयार भएको हो ।

राष्ट्रियसभाले अध्यक्ष नभएको अवस्थामा उपाध्यक्षले बैठकको अध्यक्षता गर्न पाउने व्यवस्थासहित नियमावलीमा संशोधन गरिसकेको छ। प्रतिनिधिसभा नियमावलीमा भने सभामुख नभएको अवस्थामा उपसभामुखले बैठकको अध्यक्षता गर्ने व्यवस्था छैन। प्रतिनिधिसभा नियमावलीको नियम (६) को उपनियम (४) मा ‘सभामुखले प्रत्येक बैठकको प्रारम्भ र स्थगनको घोषणा गर्नेछ’ भन्ने व्यवस्था छ ।

विगतमा सुवास नेम्वाङ सभामुख भएका बेला बैठकको प्रारम्भ र स्थगन सभामुखले नै गर्ने प्रचलन बसालेका थिए। संसद सचिवालयकी एक कमर्चारीमाथि यौन दुर्व्यवहारको आरोप लागेपछि सभामुख कृष्णबहादुर महराले राजीनामा दिएपछि सभामुख पद रिक्त छ । सभामुखले प्रतिनिधिसभाबाट पारित विधेयक प्रमाणीकरण गर्ने व्यवस्था छ । सभामुख नहुँदा ५ वटा विधेयक कानुन बन्न सकेका छैनन् ।

Featured