देश

किसानको उत्पादन र आम्दानी बढाइँदै

काठमाडौं, पुस ४–कृषि तथा पशुपक्षी विकास मन्त्रालय र कृषि विकासका लागि सहयोगार्थ अन्तर्रा्ष्ट्रिय कोष (आइफ्याड) ले मुलुकका साना किसानको उत्पादन बढाउन जोड दिइरहेको बताएका छन् । यी दुई निकायले संयुक्तरूपमा ‘मुलुकको रणनीति र कार्यक्रम मूल्यांकनका लागि राष्ट्रिय कार्यशाला’ नामक एकदिने कार्यशालाको आयोजना गरी उक्त कुराको जानकारी दिएका हुन् ।

मन्त्रालयका सहसचिव श्रीकृष्ण नेपालले साना किसानको क्षमता अभिवृद्धि गरी कृषिमा आर्थिक वृद्धिदर गराउने मुलुकको योजना रहेको बताए । उनले भने, ‘मुलुकको अतिग्रामीण भेगमा रहेका किसानले उत्पादनको सही मूल्य पाउन सकेका छैनन् । देशमा खाली रहेको जग्गालाई कसरी प्रयोग गर्ने, किसानलाई कसरी अघि बढाउने भनेर हामीहरु अघि बढिरहेका छौँ ।’

समयअनुसार कुन किसिमको बाली उत्पादन गर्ने र कुन बाली उत्पादन गर्दा बढी मुनाफा कमाउन सकिन्छ भनेर त्यसमा किसानले जोड दिनुपर्ने नेपालले औल्याए । मुलुकमा बसाइँसराइको प्रभावले कृषि उत्पादनमा बढी नै प्रभाव परिरहेको भनी नेपालले दुःख व्यक्त गरे । देशमा रहेका सीमान्तकृत जातिमा कृषिप्रतिको आकर्षण बढेको बताउँदै नेपालले भने, ‘बाख्रा उत्पादनमा ग्रामीण भेगका किसानले निकै सफलता पाएका छन् ।’

आइफ्याडका उपसभापति डोनल ब्राउनले ग्रामीण परिवारमा खाद्य र पोषणको अवस्था सुनिश्चित गराउन आफूहरुले सरकारलाई निरन्तर सहयोग गरिरहेको जानकारी दिए । उनले भने, ‘किसानबीच रहेको एकलौटीपन र समयअनुसार घट्दै गएको बाली उत्पादनले किसानमा थप नैराश्य बढाएको छ ।’

किसानलाई कृषिमा प्रोत्साहन गर्न आफूहरुले मसला, बेमौसमी तरकारी र फलफूल अनि गेडागुडी र दुग्धजन्य उत्पादनमा जोड दिइरहेको ब्राउनले बताए । कर्णाली प्रदेशका हिमाल र पहाडमा बस्ने ८३ प्रतिशत साना किसानलाई आइफ्याडले ठूलो मूल्यको उत्पादन रोज्न सहयोग गरिरहेको ब्राउनको तर्क छ । (नेपाल समाचार पत्र)

Featured