विदेश

निषेधाज्ञा नटेरेपछि २० वटा मेट्रो स्टेशन बन्द

एजेन्सी, पुस ३–भारत सरकारले नागरिकतासम्बन्धी नयाँ कानुन पारित गरेपछि त्यसको विरोधमा सर्वसाधारणहरू उत्रिँदा दिल्लीका २० वटा मेट्रो स्टेशन बन्द गरिएको छ । बिहीबार स्थानीय प्रशासनले चार जनाभन्दा बढी भेला हुन नपाउने गरी निषेधाज्ञा जारी गरे पनि स्थानीयहरूले भोपाल, चण्डीगढ, कोलकाता, बेङ्लुरुको सडकमा उत्रिएर विरोध प्रदर्शन गरेका छन् ।

यसपछि मेट्रोस्टेशन बन्द गरिएको हो । गएको हप्ता कानुनी रूप पाएको नागरिकता संशोधनसम्बन्धी नयाँ कानुनअनुसार पाकिस्तान, बंगलादेश तथा अफगानिस्तानमा धार्मिक उत्पीडनका कारण बस्न नसकेर सन् २०१४ को डिसेम्बर ३१ सम्ममा भारत आएका हिन्दू, सिख, बौद्ध, जैन, फारसी र इसाई समुदायका व्यक्तिलाई भारतको नागरिकता दिइनेछ। तर यसमा मुस्लिमहरूलाई भने समेटिएको छैन । कानुनी रूपमै धर्मका आधारमा विभेद भएको भन्दै भारतभर हाल विरोध प्रदर्शन भइरहेको छ ।

Featured