देश

विद्यार्थीलाई न्यानो कपडा वितरण

नवलपरासी, पुस ३–नवलपरासीको देवचुली नगरपालिकास्थित जनता प्रभात आधारभूत विद्यालयका विद्यार्थीहरूलाई न्यानो कपडा प्रदान गरिएको छ । युवा अभियन्ताहरूले सामाजिक सञ्जालद्वारा आह्वान गरी विभिन्न व्यक्तिहरूको सहयोगमा न्यानो कपडा प्रदान गरिएको हो ।

नर्सरीदेखि कक्षा ८ सम्म पढाइ हुने उक्त विद्यालयमा कक्षा ५ सम्मका सम्पूर्ण विद्यार्थीहरूलाई एक विद्यार्थी एक स्वीटर र टोपी उपहारस्वरूप प्रदान गरिएको युवा अभियन्ता दीपक शर्माले जानकारी दिए । कार्यक्रममा प्रमुख अतिथि देवचुली नगरपालिकाका उपप्रमुख पार्वता तिवारीले नगरपालिकाको विकट गाउँमा रहेको विद्यालयको शैक्षिकदेखि भौतिक गुणस्तर र पूर्वाधार विकासका लागि सघाउने बताइन् । जाडो बढेसँगै बालबालिकाहरूलाई न्यानो स्वीटर र टोपीले निरन्तर विद्यालय आउन सहज हुने उनले बताइन् ।

कार्यक्रममा बालमैत्री परामर्शदाता खिमानन्द भुसाल, देवचुली १६ का वडा अध्यक्ष केशरबहादुर क्षत्रीले युवाहरूको पहलमा भएको अभियानले शिक्षाको क्षेत्रमा महत्त्वपूर्ण भूमिका खेल्ने बताएका थिए । युवा अभियन्ता विश्वास लामिछानेले जाडोमा न्यानो कपडाको अभावले गर्दा बालबालिका विद्यालय नआउने गरेको र उनीहरूको दैनिक पठनपाठनमा समेत प्रभाव परेकाले न्यानो कपडा वितरण गरिएको बताए । अभियानको संयोजन युवा अभियन्ता राजु चापागाईंले गरेका थिए ।

Featured