देश

न्यायाधीशका अंगरक्षकको हतियार लिएर फरार युवक पक्राउ

जनकपुरधाम, पुस ३–न्यायाधीशको अंगरक्षक रहेकी आफ्नी प्रेमिकाको हतियार लिएर फरार एक युवक आज पक्राउ परेका छन् । शिवेन्द्र यादवलाई जनकपुरधाम उप–महानगरपालिका– १५ स्थित रामपुरबाट हतियारसहित नियन्त्रणमा लिएको धनुषा प्रहरीका नायव उपरीक्षक रामेश्वर कार्कीले जानकारी दिएका छन् । प्रदेश २ को उच्च अदालत जनकपुरधाममा कार्यरत न्यायाधीश शकुन्तला घिमिरेकी अंगरक्षक रनिता केवटले बोक्दै आएको सात राउण्ड गोली लोड गरिएको चाइनिज पेस्तोल लिएर केवटका प्रेमी यादव फरार भएका थिए ।

यादवको मोबाइल ट्रयाक गरिरहेको प्रहरीले लोकेसन पत्ता लगाएर जाँदा उनलाई पक्राउ गर्न सफल भएको प्रहरी नायव उपरीक्षक कार्कीले बताए । ‘यादवलाई रामपुरस्थित सडकछेउबाटै पक्राउ गरिएको छ,’ कार्कीले भने, ‘उनलाई नियन्त्रणमा लिएपछि हतियार पनि बरामद भएको छ ।’ शिवेन्द्रले आफ्नी प्रेमिका प्रहरी जवान केवटले बोक्दै आएको हतियार एक जनाको गोठमा राखेका थिए । एउटा झोलामा हालेर गोठमा लुकाइएको अवस्थामा हतियार फेला परेको प्रहरीको भनाइ छ ।

पक्राउ परेका शिवेन्द्रविरुद्ध प्रहरीको हतियार लुटेको सन्दर्भमा मुद्दा चलाइने तयारी भइरहेको प्रहरीले जनाएको छ । जनकपुरधामस्थित प्रदेश २ को उच्च अदालतका न्यायाधीश शकुन्तला घिमिरेको अंगरक्षकको रूपमा काम गर्दै आएकी प्रहरी जवान रनिता र यादवबीच प्रेम सम्बन्ध थियो । दुवै नवलपरासी जिल्लाको भएको र केही दिनअगाडि यादव आफ्नी प्रेमिका केवटलाई भेट्न जनकपुरधाम आएका थिए ।

आफ्नी प्रेमिकालाई भेट्न आएका यादवले प्रेमिकाको कोठामा एक जना प्रहरी जवानलाई समेत भेटेपछि दुवैबीच विवाद भएको थियो । यो विवादकै क्रममा यादवले केवटले बोक्दै आएको पेस्तोल लिएर गत १ पुसमा फरार भएका थिए । हतियार हराएपछि प्रहरीले केवटलाई १ पुसमा नै नियन्त्रणमा लिएर अनुसन्धान सुरु गर्दै उनीमाथि विभागीय कारबाहीको तयारीसमेत गरेको छ ।

Featured