देश

मोटरसाइकल आपसमा ठोक्किँदा एकको मृत्यु, दुई घाइते

जनकपुरधाम, पुस ३–धनुषाको ढल्केवरमा दुईवटा मोटरसाइकल एकआपसमा ठोक्किँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ । बिहीबार साँझ पूर्वपश्चिम राजमार्गअन्तर्गत धनुषाको मिथिला नगरपालिका–५ स्थित बसही पुल र रामलक्ष्मण चोकको बीचमा दुर्घटना भएको हो । दुर्घटनामा मिथिला नगरपालिका–३ मा रहेको मामा ललित महतोको घरमा बस्दै आएका २० वर्षीय दीपकुमार महतोको ज्यान गएको इलाका प्रहरी कार्यालय ढल्केवरले जनाएको छ । अर्को मोटरसाइकलमा सवार धनुषाको धारापानीका रमेश मगर र निरज मगर घाइते भएका छन् । घाइते दुवैजनाको ढल्केवरस्थित एक निजी क्लिनिकमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

पूर्वबाट ढल्केवरतर्फ आइरहेको ज.९.प ९८५९ नम्बरको होण्डा साइन मोटरसाइकल र पश्चिमबाट पूर्वतर्फ गइरहेको ना.६५.प ९२९२ नम्बरको पल्सर मोटरसाइकल एकआपसमा ठोक्किएपछि अनियन्त्रित भएको होण्डा साइन मोेटरसाइकल अगाडिबाट आउँदै गरेको ना.५.ख ८२९६ नम्बरको ट्रकमा ठोक्किन पुगेको थियो । अनियन्त्रित भई ट्रकमा ठोक्किएका कारण सो मोटरसाइकलमा सवार महतोको मृत्यु भएको प्रहरीले जनाएको छ । घटनापछि दुवै मोटरसाइकल र ट्रकलाई इलाका प्रहरी कार्यालय ढल्केवरले नियन्त्रणमा लिएको छ ।

Featured