देश

पोखरा महानगरका तीन आयोजनामा योजना आयोगको साझेदारी

पोखरा, पुस ३–पोखरा क्षेत्रमा राष्ट्रिय योजना आयोग र पोखरा महानगरपालिकाको समपूरक साझेदारी अन्तर्गतका ३ आयोजनाको काम अगाडि बढाइने भएको छ । पोखरा महानगरपालिकाले काम सुरु भईसकेका तीन आयोजनामा थप काम गर्न आयोगसँग साझेदारी गरेको हो । साझेदारीअन्तर्गत पोखरा महानगर–२० मा मनिपालर्–यालेचौर–भलाम सडकखण्डमा पोखरा महानगरको १ करोड २० लाख र योजना आयोगको १ करोड २० लाख गरी कूल २ करोड ४० लाखको साझेदरीमा काम अगाडी बढाइने पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसीले बताए।

त्यसैगरी, बैदाम–पामे–घाँटीछिना सडकखण्डमा महानगर र योजना आयोगले समान १ करोड ६० लाखका दरले लगानी गरी काम अगाडी बढाइने भएको छ । यस्तै, विजयपुर—कालिका—माझठाना–बेगनास सडकखण्डमा संयुक्त रुपमा कूल ४ करोडको लागतमा काम अगाडी बढाइने भएको छ । यी तीनवटै आयोजनामा ३ वर्षीय आयोजनाअन्तर्गत महानगरपालिकाले गत आर्थिक वर्षबाटै काम सुरु गरेको थियो ।

यसैगरी, राष्ट्रिय योजना आयोगको विशेष अनुदानअन्तर्गत १ करोडको लागतमा सराङकोट खानेपानी आयोजना, ८० लाखको लागतमा पोखरा–२८ गहुँकाट्ने, गोतेनबारी जौबारी लिफ्टिङ खानेपानी आयोजना, २ करोडको लगानीमा पोखरा–११ काहुँ खानेपानी आयोजना, १ करोडको लगानीमा सडक बालबालिका पुनस्र्थापना केन्द्रको काम समेत अगाडि बढाउन बजेट विनियोजन भएको जिसीले बताए ।

Featured