खेलकुद देश

पीपीएलः बुटवलमाथि चितवनको विशाल जित

पोखरा, पुस ३–पोखरामा जारी पोखरा प्रिमियर लिग (पीपीएल)मा चितवन राइनोजले बुटवल ब्लास्टर्समाथि विशाल जित हात पारेको छ । बिहीबार भएको खेलमा चितवनले बुटवललाई १ सय १९ रनको भारी अन्तरले पराजित गरेको हो । पोखरा रंगशालाको क्रिकेट मैदानमा भएको खेलमा टस हारेर ब्याटिङमा उत्रेको चितवनले २ सय ३ रनको कीर्तिमानी योगफल तयार गरेको थियो । यो पीपीएलको इतिहासकै सर्वा्धिक स्कोर हो । कीर्तिमानी योगफल बनाउने क्रममा चितवनका दुवै ओपनरले अर्धशतक प्रहार गरेका थिए ।

चितवनका रोहन मुस्ताफाले ५६ बलमा ७० रन बनाए भने राष्ट्रिय टिमका पूर्वकप्तान पारस खड्काले ४० बलमा ६३ रनको योगदान दिए । आरिफ सेखले पनि निकै आक्रामक ब्याटिङ गर्दै १९ बलमै ४० रन बनाएका थिए । चितवनको उत्कृष्ट ब्याटिङले मनोबल कमजोर भएपछि बुटवलका बलरले २५ रन एक्स्ट्रा दिएका थिए । बुटवलका अफ्ताबुद्दिन अहमदले २ विकेट लिए भने अविनाश बोहोराले एक विकेट आफ्नो नाममा लेखाए ।

२ सय ४ रनको कीर्तिमानी लक्ष्य पछ्याएको बुटवलको ब्याटिङ पनि बलिङजस्तै अस्तब्यस्त रह्यो । ब्याट्सम्यानले ठूलो लक्ष्यको दबाबमा आएर खुलेर प्रदर्शन गर्न नसकेपछि बुटवल १८.४ ओभरमा केबल ८४ रन बनाउँदा अलआउट हुन पुग्यो । बुटवलका लागि भारतीय खेलाडी शिवम् सिंहले ३३ बलमा सर्वा्धिक ३३ रन बनाए । पावरप्लेमा केवल १८ रन बनाउँदा ३ विकेट गुमाएको बुटवलका लागि भीम सार्कीको २१ रन दोस्रो ठूलो योगदान रह्यो । बुटवललाई सस्तैमा समेट्ने क्रममा चितवनका करन केसीले ४ जना ब्याट्सम्यानलाई पभेलियन फर्काए भने रोहन मुस्तफाले २ विकेट आफ्नो नाममा लेखाए।

Featured