देश

भ्रमण वर्ष लक्षित आर्किटेक्चरल सम्मेलन हुँदै

काठमाडौं, पुस ३–पर्यटन वर्ष मनाउने अन्तिम तयारीमा देश जुटिरहेका बेला काठमाडौं बृहत् राष्ट्रिय सम्मेलन हुने भएको छ । सोसाइटी अफ नेप्लिज आर्किटेक्ट (सोना)को आयोजनामा शुक्रबारदेखि काठमाडौंको ठमेलस्थित एल्फ्ट होटलमा सुरु हुने सम्मेलनमा देशभरका पाँचसय भन्दा बढीको सहभागिता हुँदैछ ।

सोनाका महासचिव सुरज खनालका अनुसार नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गर्दै ‘आर्किटेक्चरल रेस्पोन्सेस टु टुरिज्म इन नेपाल’ भन्ने एजेण्डासहितको सम्मेलन आयोजना गर्न लागिएको हो । पर्यटकीय क्षेत्र आर्किटेक्चरल हिसाबले जति मजबुत हुन्छ, त्यति नै पर्यटकीय सम्भावना बढ्ने हुनाले यसतर्फ सरकारको ध्यानआकृष्ट गर्न सम्मेलन सहयोगी हुने आयोजकको दाबी रहेको छ । सम्मेलनले आर्किटेकटहरूको विगतको भूमिकाको समिक्षा गर्दै आगामी प्रयत्नलाई थप प्रभावकारी बनाउन सहयोग र्पुयाउने सोनाकी अध्यक्ष अञ्जु मल्ल प्रधानले बताइन्।

सम्मेलनमा शहरको परिकल्पना, विपद्पछिको संरचना र पर्यटकीय पूर्वाधारमा नयाँ मार्गप्रसस्त गर्न छुट्टाछुट्टै छलफल हुने सोनाका महासचिव खनालले जानकारी दिए । कम लागतमा नै संरचनालाई दिगो र बहुउपयोगी बनाउन आर्किटेक्टको भूमिका महत्त्वपूर्ण रहने भन्दै मुलुकको पर्यटन विकासमा टेवा र्पुयाउन सम्मेलनको आयोजना गरिएको खनालको दाबी छ । शुक्रबारबाट सुरु हुने सम्मेलन दुई दिनसम्म चल्नेछ । सम्मेलनमा आर्किटेक्ट, व्यवसायी, सरकारी निकायका साथै नेपालका पर्यटन र निर्माणक्षेत्रसँग जोडिएका अग्रणी संस्थाहरूको समेत सहभागिता रहनेछ ।

Featured