देश

गण्डकी प्रदेश समन्वय परिषद्को तेस्रो बैठक पोखरामा सुरु

पोखरा, पुस ३–गण्डकी प्रदेश समन्वय परिषद्को तेस्रो बैठक पोखरामा सुरु भएको छ । प्रदेश र स्थानीय सरकारबीच समन्वय गर्नका लागि गठित परिषद्को बैठक सरकार गठन भएपछि तेस्रो पटक बसेको हो । बैठकलाई सम्बोधन गर्दै प्रदेशका मुख्य मन्त्री पृथ्वी सुब्बा गुरुङले दुई सरकारबीच समन्वयको अभाव रहेको असन्तुष्टि पोखे । उनले स्थानीय तहहरू छुट्टै सरकार भए तापनि स्वतन्त्र सरकारजस्तो व्यवहार नगरेको उनले बताए ।

उनले गण्डकी प्रदेशको आधारभूत खानेपानी सुविधा नपुगेका ठाउँमा र्पुयाउन जिल्ला समन्वय समितिसँग तथ्यांक माग्नुपरेको बताए । ‘जनतालाई पानीसमेत खुवाउन नसक्ने लोकतन्त्र के काम ? घरघरमा सिंहदरबार आएको छ भन्छौं, तर पानीसमेत पिउन नपाएका जनतालाई त्यस्तो सिहदरबार के काम ?,’ उनले भने, ‘केही देखिने काम गर्नुपर्छ । जनतालाई हामी जनताकै प्रतिनिधि हौं भनेर प्रत्याभूति दिन सक्नुपर्छ । अत्यावश्यक सेवासुविधा उपलब्धतामा विशेष ध्यान दिनुपर्छ, हामीप्रति जनताको चरम असन्तुष्टि छ ।’

उनले ‘गाउँगाउँमा सिंहदरबार’ भनेर नयाँ शासकीय अभ्यासमा डेब्यू गर्दा जनतालाई साँच्चिकै सिंहदरबार आएको अनुभूत गराउन प्रदेश र स्थानीय सरकारबीच सहकार्य र समन्वय आवश्यक रहेको बताए । प्रदेश सरकारले लिएका लक्ष्य पूरा गर्न स्थानीय तहको सहयोग र सहकार्य अपरिहार्य रहेकोमा उनले जोड दिए । मुख्य मन्त्री गुरुङले गरिबीको रेखामुनि रहेका जनताको घरघरमै पुगेर समृद्ध बनाउने गरी काम गर्न स्थानीय तहलाई आग्रह गरे । यी सबै काममा स्थानीय तह र प्रदेश सरकारले सहकार्य गर्नुपर्ने उनको भनाइ छ ।

प्रदेशभित्र अर्ग्यानिक उत्पादन बढाउन र जनतालाई आत्मनिर्भर बनाउन सहयोग पुग्ने कार्यक्रम सञ्चालन गर्नुपर्ने पनि उनले सुझाए । ‘प्रदेशभित्र अर्ग्यानिक गाउँ निर्माण गर्ने काम प्रदेश सरकारले थालिसकेको छ । हामीले ‘मुख्य मन्त्री जलवायुमैत्री कृषि गाउँ’ कार्यक्रम अघि बढाएका छौं,’ गुरुङले भने, ‘स्थानीय तहले पनि त्यसलाई अवलम्बन गर्नुपर्छ ।’ कार्यक्रममा गण्डकी प्रदेशका ८५ वटै स्थानीय तहका प्रमुख, उपप्रमुख, जिल्ला समन्वय समितिका अध्यक्षलगायतको सहभागिता थियो । दुई दिनसम्म चल्ने बैठकमा १५औं योजनाको राष्ट्रिय लक्ष्य र स्थानीय तहको भूमिका, गण्डकी प्रदेशको पञ्चवर्षीय योजनालगायतमा प्राकृतिक स्रोत र राजस्व बाँडफाँटको अहिलेको अवस्था र भावी योजनासहित विभिन्न विषयमा छलफल हुनेछ ।

Featured