देश

सुन भनी अन्य धातु बिक्री गर्ने दुई जना पक्राउ

सिरहा, पुस ३–सुनको जलप लगाई अन्य धानु बिक्री गरी ठगी गरेको आरोपमा सिरहा प्रहरीले हिजो साँझ दुई जनालाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय मिर्चैयाबाट खटिएको टोलीले सुनका रूपमा अन्य धानु बिक्री गरी ठगी गरेको आरोपमा धनुषाको गणेशमान चारनाथ नगरपालिका–९, बरमझियानिवासी ३० वर्षीय कुलदीपकुमार गडेरी र सवैला नगरपालिका– १०, मखनाहानिवासी २५ वर्षीय प्रदीप साहलाई पक्राउ गरेको हो । पक्राउ परेका दुवै जनाले मिर्चैया नगरपालिका– ६ स्थित राधाकृष्ण ज्वेलर्स र शिव ज्वेलर्समा सुनका रूपमा अन्य धातुको लकेट बिक्री गरी चाँदीका बाला लिएका थिए ।

बाँकी रहेको वस्तुसमेत लिएर जाने बेलामा लकेटको सुन परीक्षण गर्दा सुनको जलप मात्र भएको खुलेको इलाका प्रहरी कार्यालय मिर्चैयाका प्रहरी नायब उपरीक्षक सन्तुलाल चौधरीले जानकारी दिए । राधाकृष्ण ज्वेलर्स सञ्चालक देवकृष्ण साह र शिव ज्वेलर्सका सञ्चालक सन्तोष महतोले उजुरी दिएपछि प्रहरीले पक्राउ गरेको जनाइएको छ ।

Featured