देश सूचना/ प्रबिधि

पहिलो पटक फाइबरबाट फोन र इन्टरनेट सेवा

बाग्लुङ, पुस ३–नेपाल टेलिकमले फाइबर प्रविधिबाट धौलागिरीका चार जिल्लामा एकसाथ फोन र इन्टरनेट सेवा सुरूवात गरेको छ । पहिलो पटक टेलिकमले बागलुङ, पर्वत, म्याग्दी र मुस्ताङ जिल्लामा बुधबारदेखि सेवा थालनी गरेको हो । यसअघि बागलुङ सदरमुकाममा मात्र फाइबर प्रविधिको इन्टरनेट सेवा उपलब्ध थियो । नेपाल टेलिकम बागलुङ कार्यालयका वरिष्ठ इञ्जिनीयर केशव शर्माले म्याग्दीको गलेश्वरमा बुधबार सो सेवाको शुभारम्भ गर्दै इन्टरनेट र भ्वाइस सेवा एकसाथ सुरू भएको जानकारी दिए ।

पहिलो चरणमा गलेश्वरका ६० जना ग्राहकले फाइबर जडान गरेका छन् । टेलिकमले १ सय २८ जनालाई पुग्ने गरी तार र प्रणाली तयार गरेको छ । गलेश्वरपछि सदरमुकाम बेनी बजारमा फाइबर सेवा विस्तार गरिनेछ । पुरानो प्रविधिका फोन र इन्टरनेटलाई विस्तारै नयाँमा रुपान्तरण गर्दै लाने प्रमुख शर्माले जानकारीदिए । उनका अनुसार बेनी बजारमा २ हजार ५ सय ६० जना ग्राहककोमा फाइबर र्पुयाउने काम जारी छ । बेनीको टेलिकम कार्यालयमा रहेको ‘अप्टिकल लाइन टर्मिनल’बाट गलेश्वरमा फाइबरको तार लगिएको छ । गलेश्वरबाट पुरानो तामाको तारको प्रविधि पूर्ण रूपमा विस्थापन भएको टेलिकम म्याग्दी कार्यालयका प्रमुख विष्णुदेव शाहले बताए ।

स्थानीय बासिन्दा फाइबारको एउटै तारबाट फोन र इन्टरनेट सेवा पाउँदा खुशी छन् । बागलुङ बजारका एक हजार ८ सय ५० भन्दा बढी ग्राहकले अहिले फाइबर प्रविधिबाट इन्टरनेट सेवा लिइरहेका छन् । बागलुङ सदरमुकाममा मात्र ५ हजार २ सय ५० जना ग्राहककोमा फाइबर जडान गर्ने लक्ष्य छ । यस्तै, पर्वत सदरमुकाम कुश्मामा २ हजार ५ सय ६० र मुस्ताङ सदरमुकाम जोमसोममा १ हजार २४ ग्राहकलाई सेवा दिने गरी फाइबर बिछ्याउने काम भइरहेको टेलिकमले जनाएको छ । (रासस)

Featured