देश सूचना/ प्रबिधि

नेपाल टेलिकमको इन्टरनेट सेवा अवरुद्ध

दिपायल, पुस ३–सुदूरपश्चिम प्रदेशमा नेपाल टेलिकमद्वारा वितरित इन्टरनेट सेवा (एडिएसएल) अवरुद्ध भएको छ । अप्टिकल फाइबरमा आएको खराबीका कारण इन्टरनेट सेवा बिहीबार बिहानदेखि अवरुद्ध भएको टेलिकम दिपायल राजपुरका सूचना अधिकारी प्रकाश चौधरीले जानकारी दिए । उनले भने, ‘बुटवलमा अप्टिकल फाइबरमा खराबी आएकाले इन्टरनेट सेवा अवरुद्ध भएको जानकारी आएको छ । सेवा सुचारु गराउन प्रविधिक टोली परिचालन भैसकेको छ ।’

इन्टरनेट सेवा अवरुद्ध भएपछि बैंकिङ कारोवारसमेत प्रभावित छ । सुदूरपश्चिमप्रदेशमा पटकपटक नेट सेवा अवरुद्ध हुँदा यहाँका स्थानीयलाई निकै सास्ती हुने गरेको छ । नेपाल टेलिकमको डोटीस्थित दिपायल राजपुर कार्यालयले ३ सय जनालाई अति द्रुत गतिको इन्टरनेट सेवा फोरजी सेवाको सिमकार्ड निःशुल्करुपमा वितरण गरेको छ ।

जिल्लामा केही हप्ता पहिलेदेखि फोरजी सेवा शुरु भएपछि उक्त कार्यालयले पहिलो पटक दिपायलको प्रमुख व्यापारी केन्द्र पिपल्ला बजारमा ३ सय जना नागरिकलाई निःशुल्करुपमा फोरजी सिमकार्ड वितरण गरेको नेपाल टेलिकमको डोटीस्थित दिपायल राजपुर कार्यालयका प्रमुख केशवराज भट्टले बताए । उनले भने, ‘इन्टरनेटमा सबैको पहुँच होस् भनेर हामीले निःशुल्क सिमकार्ड वितरण गरेका छौँ, अधिकांशले लिएका छन् ।’ रासस

Featured