देश

काम रोक्नेलाई सिधै कारबाही : मन्त्री मानन्धर

काठमाडौं, पुस ३–नुवाकोट र धादिङको सिमानामा पर्ने बन्चरेडाँडा सेनिटरी ल्याण्डफिल्ड साइट निर्माण कार्यलाई तीव्रता दिन शहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले निर्देशन दिएका छन् । १३ वर्षदेखि चर्चामा रहेको बञ्चरेडाँडा ल्याण्डफिल्ड साइटमा बिहीबार मन्त्रालयका सचिवसहितको अधिकारीहरूको टोली लिएर पुगेका मन्त्री मानन्धरले काठमाडौंको फोहोर व्यवस्थापनको लाइफ लाइनका रूपमा रहेको आयोजनामा ढिलाइ गरे कारबाही गर्ने चेतावनीसमेत दिएका छन् । सो परियोजना शहरी विकास मन्त्रालयमातहत आएपछि निर्माणले गति लिएको छ । तर, १ पुसबाट फोहोर फाल्नका लागि योग्य हुने लक्ष्य पूरा नभएपछि मन्त्री मानन्धर आफैं फिल्डमा पुगेका हुन् ।

अहिलेकै अवस्थामा निर्माण कार्यले तीव्रता पाएमा अबको दुई महिनाभित्र काठमाडौं उपत्यकाले भोग्दै आएको फोहोरको समस्या सदाका लागि अन्त्य हुनेछ । अहिलेकै गतिमा काम भए दुई महिनापछि काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापनको महत्त्वपूर्ण कडी मानिएको बन्चरे डाँडा सेनिटरी ल्याण्डफिल्ड साइटमा फोहोर फाल्न सकिने बन्नेछ । गत वैशाखबाट निर्माण कार्य थालिएको उक्त ल्याण्डफिल्ड साइटको धेरै काम अघि बढेको छ । आयोजनालाई आफूले नजिकबाट नियालिरहेको भन्दै राज्यमन्त्री मानन्धरले पाक्षिक रूपमा आयोजनाको निरीक्षण र अनुगमन गर्ने बताए ।

आयोजनामा देखिएका समस्या आफ्नै अग्रसरतामा समाधान गर्ने दाबी गरेका मन्त्री मानन्धरले यसलाई नमुना आयोजनाको रूपमा सम्पन्न गर्ने दाबीसमेत गरे । मन्त्री मानन्धरले सरकारी निकायबीच समन्वय हुन नसके सिधै आफूलाई रिपोर्ट गर्न सरोकारवाला पक्षलाई आग्रह गर्दै तोकिएको मितिमा आयोजना सम्पन्न नभए संलग्न सबैलाई कारबाहीको चेतावनीसमेत दिएका छन् । मन्त्री मानन्धरले स्थानीयलाई समेत लाभ हुनेगरी आयोजना तयार भएको भन्दै स्थानीयले मन दुखाउनुपर्ने कुनै कारण नभएको बताए ।

मन्त्री मानन्धरले यो आयोजना देशकै नमुना आयोजनाका रूपमा विकास गर्नका लागि नवीनतम प्रविधिको प्रयोग हुने बताए । आयोजना प्रभावितका सबै समस्या समाधान भइसकेकाले कामलाई तीव्रता दिइने मन्त्री मानन्धरको भनाइ थियो । बिहीबार शहरी विकास राज्यमन्त्री रामवीर मानन्धर, सचिव मधुसुदन अधिकारी, शहरी विकास तथा भवन निर्माण विभागका महानिर्देशक, उपमहानिर्देशकलागायतका टोलीले बन्चरे डाँडाको स्थलगत अवलोकन गरेपछि दुई महिनाभित्रमा फोहोर फाल्न सक्ने स्थितिमा र्पुयाउनेमा उनीहरू विश्वस्त भएका हुन् ।

कार्यालय प्रयोजनका लागि भवन निर्माणदेखि फोहोर फाल्ने मुख्य स्थानमा फाउण्डेसनको काम अघि बढेको छ । मुख्य स्थानलाई दुई सेलमा विभाजन गरी कम्तीमा एक सेलमा छिट्टै फोहोर फाल्न मिल्ने बनाउन लागिएको छ । लिचड व्यवस्थापनका लागि दुईवटा लिचड पाउण्ड निर्माण थालिएको उपमहानिर्देशक, शहरी विकास तथा भवन निर्माण विभागका उपमहानिर्देशक पदम मैनालीले बताए । आयोजना निर्माणको पहिलो चरणको लागत ३४ करोड ६८ लाख रुपैयाँ छ ।

Featured