विदेश

दिल्लीमा प्रदर्शनः टेलिफोन सेवा अवरुद्ध

एजेन्सी, पुस ३–नागरिकता संशोधन कानुन (सीएए) को विरोधमा भारतका विभिन्न स्थानमा प्रदर्शन भइरहेको छ । राजधानी दिल्ली, उत्तर प्रदेश तथा कर्नाटकका विभिन्न क्षेत्रमा स्थानीय प्रशासनले कर्फ्यू लगाएको छ । कर्फ्यू लागे पनि दिल्लीमा ठूलो संख्यामा प्रदर्शन भइरहेको छ । प्रहरीले स्वराज पार्टीका नेता योगेन्द्र यादवसहितलाई पक्राउ गरेको छ । दिल्लीका विभिन्न क्षेत्रमा इन्टरनेट सेवा बन्द गरिएको छ । यस्तै, टेलिफोन सेवामा पनि अवरोध आएको छ । एयरटेलले दिल्लीका केही क्षेत्रमा इन्टरनेट सेवासमेत बन्द गरिएको जनाएको छ ।

बैंङ्लोरमा सीएएको विरोधमा प्रदर्शनमा उत्रिएका वरिष्ठ इतिहासकार रामचन्द्र गुहालाई पनि प्रहरीले पक्राउ गरेको छ । कर्नाटकको दक्षिण कन्नड जिल्लामा २१ डिसेम्बरसम्मका लागि निषेधाज्ञा लागू भएको छ । तर पनि वामपन्थी दलहरूले प्रदर्शन गरिरहेका छन् । हैदराबाद, चेन्नई र चण्डीगढमा पनि प्रदर्शन भइरहेका छन् । सीएएको विरोधमा वामपन्थी पार्टीसँगै मुस्लिम संगठनहरूले बिहीबार भारत बन्दको आह्वान गरेका छन् ।

गएको हप्ता कानुनी रूप पाएको नागरिकता संशोधनसम्बन्धी नयाँ कानुनअनुसार पाकिस्तान, बंगलादेश तथा अफगानिस्तानमा धार्मिक उत्पीडनका कारण बस्न नसकेर सन् २०१४ को डिसेम्बर ३१ सम्ममा भारत आएका हिन्दु, शिख, बौद्ध, जैन, पारसी र इसाइ समुदायका व्यक्तिलाई भारतको नागरिकता दिइनेछ । तर, यसमा मुस्लिमहरूलाई भने समेटिएको छैन । कानुनी रूपमै धर्मका आधारमा विभेद भएको भन्दै भारतभर हाल विरोध प्रदर्शन भइरहेको छ ।

Featured