देश

संखुवासभामा विप्लव नेकपाको चन्दा आतंक

संखुवासभा, पुस ३–पूर्वी पहाडी जिल्ला संखुवासभामा पछिल्लो समय नेत्रविक्रम चन्द विप्लव नेतृत्वको प्रतिबतिन्ध नेपाल कम्युनिस्ट पार्टीका कार्यकर्ताले चन्दा संकलन अभियान तीव्र पारेका छन् । विप्लव नेकपाका कार्यकर्ताले जिल्लाका विभिन्न नगर तथा गाउँपालिका का जनप्रतिनिधि र व्यापारीसँग चन्दा माग्दै फोन बाट धम्की आउने बताएका छन् । विप्लवका कार्यकर्ताले पटक–पटक फोनबाट चन्दा माग्ने गरेको भन्दै प्रहरी समक्ष उजुरी समेत परेका छन् । केही समयअघि विप्लव कार्यकताले चन्दा नदिएको भन्दै पाँचखपन नगरपालिकाको १ झ ५४० नम्बरको गाडी तोडफोड गरेका थिए ।

विप्लव कार्यकताले पाँचखपनका नगरप्रमुख, उपप्रमुख र वडा अध्यक्षहरुलाई पटक–पटक फोन गरेर चन्दा आंतक मच्चाएको स्रोतको भनाइ छ । चन्दा नदिए भौतिक कारबाही गर्ने समेत धम्की आएको पाँचखपनका एक जनप्रतिनिधिले बताए । उनीहरुले भने ज्यान जोमिखमा भएका कारण आफूहरुले खुलेर भन्न सक्ने अवस्था नभएको बताए । विप्लव कार्यकताले चैनपुर, मादी, धर्मदेवी नगरपालिकाका जनप्रतिनिधिसँग फोनबाट चन्दा माग्ने गरेको र चन्दा नदिए भौतिक कारबाही गर्ने धम्की आउने बताए ।

त्यसैगरी गरी विप्लव नेकपाका कार्यकताले गत मंसिर २५ गते राति मादी नगरपालिका–५ को वडा कार्यालय र एक स्काभेटरमा समेत आगजनी गरेका थिए । आगजनीबाट वडा कार्यालयको भवन, कागजपत्र, फर्निचर, कम्प्युटर, फोटोकपी मेसिन, प्रीन्टर, मोबाइल फोन लगायतका सामग्री जलेको थियो । आगजनी बाट २ करोड बराबरको क्षति भएको मादी नगरपालिका नगरप्रमुख बिदुर सुब्बाले जानकारी दिए । प्रहरीले आगजनी, तोडफोड गर्न र चन्दा माग गर्न एक जना पनि कार्यकता पक्राउ गर्न सकेको छैन ।

Featured