देश

इन्जिनियरिङ विधेयक समितिबाट पारित

काठमाडौं, पुस २–राष्ट्रियसभाको विधायन व्यवस्थापन समितिले इन्जिनियरले लाइसेन्स लिन अनिवार्य परीक्षा पास गर्नुपर्ने ब्यवस्था सहित नेपाल इन्जिनियरिङ परिषद् (पहिलो संशोधन) विधेयक, २०७६ लाई पारित गरेको छ । हाल इन्जिनियरिङमा स्नातक गरेकाले शैक्षिक प्रमाणपत्रका आधारमा इन्जिनियरिङ लाइसेन्स प्राप्त गर्न नेपाल इन्जिनियरिङ परिषदसमक्ष निवेदन दिन सक्ने ब्यवस्था छ । विदेशमा अध्ययन गरेर आउनेले पनि त्रिभुवन विश्वविद्यालयले दिएको समकक्षता प्रमाणका आधारमा लाइसेन्स प्राप्त गर्दै आएका छन्् ।

समितिबाट पारित विधेयकअनुसार अब भने इन्जिनियरले लाइसेन्स लिन इन्जिनियरिङ परिषदले लिने परीक्षा पास गर्नुपर्ने हुन्छ । परिषदले बर्षमा दुई पटक परीक्षा लिने ब्यवस्था विधेयकमा राखिएको छ । विधेयकको दफा १४ अनुसार परिषदले तोकेका व्यक्तिको संयोजकत्वमा परिषदभित्रै परीक्षा समिति रहनेछ । रजिष्टार सदस्य सचिव रहने समितिमा परिषदलले नै तोकेका तीन जना सदस्य रहनेछन् ।

यो विधेयकलाई संसद अधिवेशन सुरु हुनेवित्तिकै पेश गर्ने तयारी गरिएको समिति सभापति पर्शुराम मेघी गुरुङले जानकारी दिए । राष्ट्रिय सभाले पास गरेपछि यो विधेयक प्रतिनिधि सभामा जान्छ । प्रतिनिधिसभाले पनि पारित गरेपछि राष्ट्रपतिले प्रमाणीकरण गर्ने र कार्यान्वयनमा जाने संवैधानिक व्यवस्था रहेको छ ।

Featured