विदेश

२४ छात्रामाथि यौनशोषणको अरोपमा शिक्षक पक्राउ

एजेन्सी, पुष २–भारतको हरियाणा राज्यको एउटा सरकारी विद्यालयका २४ छात्राले एकैसाथ आफूहरू यौनशोषणमा परेको जानकारी दिएका छन् । उनीहरूले दुई दिनअघि लिखित रूपमा यस्तो जानकारी दिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । छात्रामाथि यौनशोषण गरेको आरोपमा प्रहरीले विद्यालयका ल्याब असिसटेन्ट, फिजिकल ट्रेनिङ इन्स्ट्रक्टरलाई पक्राउ गरी हिरासतमा राखेको समाचारमा जनाइएको छ ।

यौनशोषण गरेको आरोप लागेका कम्प्युटर विषयका शिक्षक भने फरार छन् । सुनीता यादव नाम गरेकी एक बालसंरक्षण अधिकारीले ती छात्रामाथि भएको यौनशोषणबारे प्रहरीलाई बताएकी थिइन् । उनका अनुसार विद्यालयमा तीन जना शिक्षकले गत अगस्टदेखि ८ कक्षादेखि १० सम्मका छात्राको यौनशोषण गरिरहेका थिए । यौनशोषणमा परेका बालिका र तिनका अभिभावकले विद्यालयका प्रधानाध्यापक र गाउँका मुखियालाई यसबारेमा भने पनि घटना लुकाउन खोजिएको खुलेको छ ।

ती महिला अधिकारीलाई २४ जना बालिकाले दुई दिनअघि लिखित रूपमा आफूहरू यौनशोषणमा परिरहेको जानकारी गराएका थिए । ती शिक्षकहरूले घटनाबारे मुख खोले सजाय दिने र परीक्षामा समेत फेल गराइदिने धम्की दिएर यौनशोषण गरिरहेको बालिकाले बताएका छन् । पूरै विद्यालयमा सीसीटीभी जडान गरिए पनि कम्प्युटर ल्याब, म्याथ, साइन्स ल्याब, वाथरूमको आसपासका क्षेत्रलाई सीसीटीभीले समेटेको थिएन । त्यहीँ बालिकामाथि यौनशोषण हुने गरेको समाचारमा जनाइएको छ ।

Featured