देश राजनीति

राष्ट्रिय सभा सदस्य निर्वाचनमा नेकपा र राजपाबीच सहकार्य

काठमाडौं, पुस २–सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र विपक्षी राष्ट्रिय जनता पार्टी नेपाल (राजपा) बीच राष्ट्रिय सभा सदस्य निर्वाचनमा सहकार्य हुने भएको छ । राष्ट्रिय सभाको आगामी ९ माघमा १८ सदस्य चयनका लागि हुने निर्वाचनमा सत्तारुढ नेकपा र राजपाबीच २ नम्बर प्रदेशबाट निर्वा्चित हुने ४ पदमा सहकार्य गर्ने सहमति भएको हो ।

अन्य पुरुष र अपाङ्गता भएका व्यक्ति वा अल्पसंख्यक समूहको रिक्त दुई स्थानमा राजपाका उम्मेद्वारलाई नेकपाले तथा महिला र दलित पुरुष समूहको दुई स्थानमा राजपा नेपालले नेकपाका उम्मेदवारलाई सहयोग गर्ने सहमति भएको हो । प्रधानमन्त्री निवास वालुवाटरमा दुई दलका ५–५ जना शीर्ष नेताबीच भएको छलफल र भेटघाटमा दुई पार्टीका बीचमा राष्ट्रिय राजनीतिका समसामयिक विषयहरुमा नियमित रुपमा छलफल गर्ने र सहकार्यको प्रकृयालाई अघि बढाउने समेत सहमति भएको राजपा अध्यक्ष मण्डलका संयोजक राजेन्द्र महतोले जनाए ।

सहमति पत्रमा प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओली, अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र राजपाका अध्यक्ष मण्डलका संयोजक महतोले हस्ताक्षर गरेका छन् । सहमति पत्र हस्ताक्षर गर्दा सत्तारुढ नेकपाको तर्फबाट नेकपा सचिवालय सदस्य ईश्वर पोखरेल, महासचिव विष्णु पौडेल, संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङ र राजपाको तर्फबाट संसदीय दलका नेता महन्थ ठाकुर, अध्यक्ष मण्डलका सदस्य महेन्द्र राय यादव, शरतसिंह भण्डारी र राजकिशोर यादवको उपस्थिति रहेको थियो ।

प्रदेश नम्बर २ मा ४ सदस्यका लागि निर्वाचन हुँदैछ । दुई पार्टीबीच सहकार्य भएसँगै चारवटै सदस्य दुई दलको पोल्टामा पर्न सक्ने देखिएको छ । रिक्त चार सांसदमध्ये सत्तारुढ समाजवादी पार्टीका रामप्रित पासवान र विपक्षी कांग्रेसकी मुक्ताकुमारी यादवको पदावधि सकिएको थियो । राजपासँग सहकार्यमा हस्ताक्षर भएसँगै सत्तारुढ दल समाजवादी पार्टी र सत्ता नेतृत्वकर्ता दल नेकपाबीच असमझदारी र खटपट सुरु हुने पनि देखिएको छ । विगतमा समाजवादी पार्टी, नेपाली कांग्रेस र राजपाबीच सहकार्य भएको थियो ।

Featured