देश

साकेला थानलाई ‘पिकनिक स्पट’का रूपमा विकास गरिँदै

विराटनगर, पुस २–पूर्वकै चर्चित पर्यटकीयस्थल बेतना सिमसार रहेको मोरङको बेलबारीमा अर्को नयाँ पर्यटकीय गन्तव्य थपिएको छ । बेतना सिमसारनजिकै बेलबारी–३ मा रहेको किराँत राईहरूको साकेला थानलाई पछिल्लो समय ‘पिकनिक स्पट’का रूपमा विकास गरिएको हो । धार्मिक दृष्टिकोणले २०६३ सालमा स्थापना गरिएको साकेला थान पछिल्लो समय पर्यटकीयस्थलको रूपमा विकास हुँदै गएको छ । करिब ९ हेक्टर क्षेत्रफलमा फैलिएको साकेला थानमा विभिन्न प्रजातिका आकर्षक बिरुवा रोपेर सिँगारिएको छ ।

बाल उद्यान, अस्ट्रिच, टर्कीजस्ता चराहरूले यसको थप आकर्षण बढाएको किराँत राई यायोक्खा बेलबारीका अध्यक्ष जीतुमा राईले जानकारी दिए । ‘धार्मिक हिसाबले पनि यो ठाउँ हाम्रा लागि निकै महत्त्वपूर्ण हो, त्यसैले यो क्षेत्रलाई पर्यटकीय दृष्टिकोणबाट पनि विकास गरिनुपर्छ भनेर हामीले सुरुवात गरेका हौं,’ उनले भने, ‘हामी यसलाई अझ पूर्वकै नमुना पर्यटकीयस्थलको रूपमा विकास गर्छौं ।’

साकेला थान प्राकृतिक दृष्टिकोणले निकै सुन्दर छ । यहाँ किराँत राईहरूले विभिन्न पर्वहरूमा पूजाआजासमेत गर्छन् । ‘यस क्षेत्रलाई पर्यटकीय क्षेत्रको रूपमा विकास गर्न विभिन्न योजना सञ्चालन गरेर काम अगाडि बढाएका छौं,’ अध्यक्ष राईले भने, ‘अब चाँडै तीनै तहसँग गुरुयोजनाका लागि बजेट माग गरेर सबैले एकपटक घुम्नै पर्ने क्षेत्रका रूपमा विकास गर्छौं ।’ हाल यहाँ वनभोज खान टहरा, काठको मौलिक रोटे पिङ, यलम्बरको सालिक, बाल उद्यानलगायतका संरचना निर्माण गरिएका छन् । यो ठाउँ शान्त वातावरणमा रमाउनेहरूका लागि उपयुक्त स्थान बनेको छ । जिल्लाभित्रका मात्रै होइन, मंसिर लागेदेखि नै जिल्लाबाहिरबाट पनि वनभोज खान आउनेहरूको भीड नै लाग्ने गरेको छ ।

Featured