देश

तीव्र गतिका कारण नरपानी दुर्घटना :छानबिन समिति

अर्घाखाँची, पुस २–तीव्र गतिका कारण १९ जनाको ज्यान जाने गरी अर्घाखाँचीको नरपानीमा बस दुर्घटना भएको छानबिन समितिले निष्कर्ष निकालेको छ । गत ११ मंसिरमा अर्घाखाँचीको सदरमुकाम सन्धिखर्कबाट रुपन्देही जाँदै गरेको लु२ख २१४८ नम्बरको यात्रुवाहक बस सन्धिखर्क नगरपालिका–६, सल्लेरीमा दुर्घटना हुँदा १९ जनाको मृत्यु भएको थियो । दुर्घटनापश्चात् जिल्ला प्रशासन कायार्लय अर्घाखाँचीमा भएको सर्वपक्षीय बैठकबाट सहायक प्रमुख जिल्ला अधिकारी विष्णुराज बेल्बासे संयोजक रहेको नौ सदस्यीय छानबिन समिति गठन भएको थियो । समितिलाई १५ दिनभित्रमा प्रतिवेदन पेश गर्ने गरी कार्यादेश थियो ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय अर्घाखाँचीले तयार पारेको घटनास्थलको स्केच, जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले तयार पारेको घटनास्थल प्रकृति मुचुल्का, गाडीको मेकानिकल जाँचको प्रतिवेदन, चालकले चिया नास्ता खाएको होटल साहुको भनाइ, घुम्तीका सर्वसाधारण र पसलेसँगको कुराकानी, घटनामा तत्काल उद्धारमा खटिएका प्रहरी चौकी नरपानीका चौकी इन्चार्जको बयान, उद्धारकर्ताको घटनासम्बन्धमा जिल्ला प्रहरी कार्यालयमा गरेको कागज, घटनास्थलको प्रकृति मुचुल्का, रेखाचित्रण र फोटोग्राफी तथा घाइतेको बयान कागजले समेत तीव्र गतिका कारण बस दुर्घटना भएको देखाएको छ । रासस

Featured